आईसीयुमा राखेको बिरामीद्वारा हामफालेर अस्पतालमै आत्महत्या

विराटनगर : विराट अस्पतालमा भर्ना भएका एक विरामीले अस्पताल भवनबाटै हाम फालेर आत्महत्या गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–७ बस्ने ५३ वर्षीय अमृत गजमेरले सोमबार विहान दुई तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

उनी असोज १७ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई आईसीयुमा राखिएको थियो । नर्सले रोक्दा रोक्दै पनि उनले हाम फालेका थिए । फोक्सो सम्बन्धी समस्याका कारण उनलाई अक्सिजन दिएर राखेको अस्पतालले जनाएको छ ।

प्रहरीले अस्पतालको सीसी क्यामेरामा हेर्दा उनी आफैं हाम फालेको देखिएको थियो । मृतकका परिवारले मृत्यु आत्महत्याबाट भएको नहुन सक्ने भन्दै विरोध जनाएपछि प्रहरीले सीसी क्यामेराबाट घटनाको अनुसन्धान गरेको हो ।

अस्पतालले औषधोपचारमा लागेको खर्च मिनाहा गरिदिएको छ । मृतकको स्वाब टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको विराट अस्पतालले जनाएको छ । शवको पोष्टमार्टम कोशी अस्पतालमा गरिएको थियो ।