निजी अस्पतालमा कोरोना परीक्षणको विश्वसनीय कति ?नोबेलमा पोजेटिभ, विराटमा नेगेटिभ

विराटनगर /विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पीसीआर परीक्षणगर्दा पोजेटिभ देखिएपछि शंका लागेर बुढीगंगास्थित विराट मेडिकल कलेजमा पुनः परीक्षण गराएका युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तो घटनाले परीक्षण गराउने व्यक्तिमा मानसिक तनाव त थपेकै छ भने निजी अस्पतालहरुले नाफामुखी भएर संचालन गरेका प्रयोगशालाको विश्वसनीयतामा समेत प्रश्न उठाएको छ ।

नेपाल प्रहरीको असईमा भर्ना हुनका लागि कोरोना नेगेटिभको रिपोर्ट आवश्यक भएको भन्दै परीक्षणका लागि गत शुक्रबार नोबेल पुगेका पथरी शनिश्चरेका एक युवकको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो ।

आइतबार आफ्नो रिपोर्टमा कोरोना पोजेटिभ देखाएपछि उनी शंका लागेर अर्को परीक्षणका लागि दुईघण्टा कोशी अस्पतालमा लाम लागे ।

तर त्यहाँ उनको पालोमा किट सकिएको भन्दै स्वाब संकलन बन्द गरिएपछि झन तनावमा परेका उनले ३ हजार रुपैयाँ तिरेर विराट मेडिकल कलेजमा पीसीआर परीक्षण गराएका थिए ।

६ घण्टामा रिपोर्ट भन्दै ३ हजार असुलेको विराट मेडिकल कलेजले सोमबार १२ः३० बजे दिएको रिपोर्टमा कोरोना नेगेटिभ देखाएपछि २१ वर्षे ती युवक झन विलखबन्दमा परे ।

उनका आफन्तका अनुसार सोमबार १ बजे उनको शारीरिक परीक्षण थियो । हतार हतार नेगेटिभ रिपोर्ट लिएर उनले शारीरिक तन्दुरुस्तीको परीक्षा दिए र उत्तीर्ण पनि भए । तर आफू वास्तविक रुपमा कोरोना पोजेटिभ हो कि नेगेटिभ भनेर उनले छुट्याउन सकेनन् । तनावका बीच विराटनगरस्थित भिनाजुको घर छाडेर होटलमा बसे ।

उनका भिनाजु बलबहादुर बस्नेतले प्रयोगशालाहरुले कोरोना परीक्षणलाई विश्वासनीय बनाउन नसकेको भन्दै गुनासो गरेका छन् । एउटा अस्पतालमा पोजेटिभ र अर्कोमा नेगेटिभ रिपोर्ट आएका कारण परिवारले निकै ठूलो तनाव सहनु परेको उनले सुनाए ।

‘पैसा हुनेले त पैसा तिरेरै भएपनि जाँच गराउलान्, नहुने गरीबले यस्तो रिपोर्ट दिने अस्पतालमा कसरी जाँच गराउने’ उनको प्रश्न थियो, ‘हामीलाई धरै ठूलो तनाव भयो, कसरी फेस गर्ने, हामीसँग पैसा थियो, दुई ठाउँमा गरी पाँच हजार तिरेरै दुई पटक जाँच गरियो, खर्च नहुने गरीवले कसरी परीक्षण गर्ने, यस्तो बदमासी रोकिनु पर्यो ।’

उद्घोषबाट