प्रदेश १ मा ९९ जना कोरोना संक्रमितको मृत्यु

झापा /प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सयको नजिक पुगेको छ ।

आइतबार विहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना संक्रमितको उपचारका क्रममा मृत्यु हुँदा प्रदेश १ मा मृतकको संख्या ९९ पुगेको हो ।

प्रतिष्ठानमा कोरोना संक्रमित दुई महिला र एक पुरुष गरी तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया महिला रहेकी छन् ।

फोक्सोसम्बन्धि समस्याका कारण अस्पताल भर्ना भएकी उनलाई गत बुधबार कोरोना परीक्षणगर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

उनको प्रतिष्ठानकै कोभिड आइसोलेसनमा उपचारकै क्रममा शनिबार राती ८ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले बताए ।

त्यसैगरी सुनसरीकै दुहवी नगरपालिकाका ६५ वर्षीय पुरुषको पनि उपचारका क्रममा प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा मृत्यु भएको उनले बताए । मृतक पुरुषमा निमोनिया र उच्चरक्तचापको समस्या देखिएको थियो ।

प्रतिष्ठानकै प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा असोज १५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार विहान पौने ४ बजे मृत्यु भएको जनाइएको छ ।

धनकुटा अस्पतालबाट थप उपचारका लागि रेफर गरेर पठाइएकी ६१ वर्षीया महिलाको उपचारका क्रममा प्रतिष्ठानमा आइतबार विहान पौने ७ बजे मृत्यु भएको छ ।

गत मंगलबार कोरोना पुष्टि भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.श्रेष्ठले बताए ।

यसैबीच प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका कोरोना संक्रमित मध्ये हालसम्म ४९ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

हालसम्म प्रदेश १ स्थायी ठेगाना भएका मृतकको संख्या भने ८४ पुगेको हो । अन्य १५ जना मृतक भने प्रदेश १ बाहिरका रहेका छन् ।