झापामा ५५ जनालाई कोरोना भाइरसको संक्रमण

झापा /झापामा आज ५५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १९ महिला र ३६ पुरुषमा संक्रमण देखिएको हो ।

सबैभन्दा बढी संक्रमित झापाको दमकमा देखिएका छन् । दमकमा ११ महिला र १४ जना पुरुष गरी २५ जनामा सङ्क्रमण देखिएको छ । दमकका सबै संक्रमित स्थानीय बासिन्दा हुन् ।

दमकपछि बिर्तामोडमा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। बिर्तामोडमा पाँच जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको हो । बिर्तामोडमा संक्रमण देखिएकामध्ये ९ जना स्वास्थ्यकर्मी छन् ।

मेचीनगर नगरपालिकामा पाँच जनालाई संक्रमण देखिएको छ । संक्रमितमध्ये दुईजना बैंकका कर्मचारी हुन् भने अरु सबै स्थानीय छन् । भद्रपुरमा ३ जनालाई संक्रमण भएको छ ।

भद्रपुरका संक्रमितमध्ये एकजना बैंकका कर्मचारी हुन् । बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिकामा र कनकाई नगरपालिकामा एक /एक जनामा सङ्क्रमण देखिएको छ ।

कमल गाउँपालिकामा भने दुई जना संक्रमित भेटिएका छन् । ती दुवै संक्रमित स्थानीय समुदायका हुन् । सरकारले झापामा हालसम्म २७ हजार ९०२ जनाको परीक्षण गरेको छ ।

स्वास्थ्य कार्यालयका कोरोना फाेकल पर्सन जीवन चौलागाईंका अनुसार आजसम्म झापामा संक्रमितको संख्या १११० पुगेको छ । तीमध्ये ८८९ जना डिस्चार्ज भएका छन् ।

झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या २०९ छ । समुदाय तहमा संक्रमण फैलिदै जाँदा अहिलेसम्म १२ जनाले ज्यान गुमाएका छन् ।