जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका–५ स्थायी घर भई हाल कामपा–७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

यही असोज २१ गते अपराह्न १६ः३० बजे मृतक योञ्जनले सञ्चालन गरेको पसलमा आई उनीहरुले मादक पदार्थ सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई जग्गा हेर्न भनी पसलभन्दा एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर लगेका थिए ।

रासस