न्युन गुणस्तरको बियर उत्पादन गर्दै गोरखा ब्रुअरी

काठमाडौं – गोरखा ब्रुअरीले उत्पादन गर्दै आएको टुवोर्ग, काल्सवर्ग र गोर्खा बियर न्युन गुणस्तरको रहेको पाइएको छ । बियरमा गुणस्तर नपुगेपछि आन्तरिक राजश्व विभागले नयाँ अन्तःशुल्क निर्धारण गरेको छ।

बियर उत्पादनको क्रममा जौको मात्रा ५० प्रतिशतभन्दा कम पाइएपछि आन्तरिक राजश्व कार्यालयले विभागलाई वर्गीकरणका लागि आग्रह गरेको थियो।

अन्तस्शुल्क ऐनअनुसार बियर भन्ने एक मात्र वर्गीकरण छ। जसमा ५० प्रतिशत जौको मात्रा हुनुपर्छ। तर गोरखा ब्रुअरीको उत्पादनमा जौको मात्रा पुगेको थिएन।

यसरी मापदण्ड नपुगेपछि विभागले बियरको वर्गीकरण दुई भागमा गरिदिएको छ। ५० प्रतिशत जौको मात्रा पुगेको बियरलाई साविककै दर लागू हुने र त्यो मापदण्ड पूरा नगर्ने बियरलाई उच्च अल्कोहल हुने अन्य मदिरा सरहको कर निर्धारण गर्ने वर्गीकरण गरिदिएको छ।

विभागको यो वर्गीकरणसँगै जौको मात्रा नपुगेका उत्पादनमा प्रतिलिटर ४६५ रुपैयाँ अन्तःशुल्क दरबन्दी तोकिएको छ। गोरखा ब्रुअरीको बियरमा मापदण्ड नपुगेको पाइएपछि एक हप्ता उत्पादन बजारमा गएको थिएन। यद्यपी अहिले भने नयाँ उत्पादन समीकरणबाट उसले उत्पादन सुरू गरिसकेको छ।

पछिल्लो समय गोरखा ब्रुअरी कर छली प्रकरणमा विवादित बन्दै आएको छ। यसअघि गोरखा ब्रुअरीमाथि आन्तरिक राजश्व कार्यालयले कर निर्धारण गर्दा न्यायाधीशलाई प्रभावमा पारेको थियो।

क्षेत्राधिकार मिचेर गोरखा ब्रुअरीको मुद्दा लिएर फैसला गरेको भन्दै तीनजना न्यायाधीशमाथि न्यायपरिषदले कारबाही गरेको थियो। तीमध्ये २ न्यायाधीशले राजीनामा दिएका थिए भने एक जनालाई बर्खास्त गरिएको थियो।

पहिले मापदण्ड नपुगेको जुन बजारमा नगएको बियरको स्टक, कच्चा पदार्थको विवरण आन्तरिक राजश्व कार्यालयले लिइसकेको छ।

आन्तरिक राजश्व विभागकी उप–महानिर्देशक शिवादेवी दाहालले नयाँ वर्गीकरणको परिभाषा गरेर १० वटै ब्रुअरीलाई पत्राचार गरिएको जानकारी दिइन्।