दशैं तिहारमा हुने भीडभाड रोक्न निषेधाज्ञा

झापा / नजिकिदै गरेको दशैं तिहार लगायतका चाडपर्वमा हुने भिडभाडलाई लक्षित गरी विभिन्न जिल्लामा पुनः निषेधाज्ञा जारी गरिएको छ ।

चाडपर्वमा हुने भिडभाडले कोभिड १९ संक्रमणको जोखिम बढ्ने भन्दै विभिन्न जिल्ला प्रशासनले चाडपर्वलाई लक्षित गरि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले दसैं, तिहार, छठ लगायतको चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरि निषेधाज्ञा जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमणको फैलने दर र मृत्यु दर बढेको र जोखिम अझै रहिरहेकोले चाडपर्व लक्षित निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै विभिन्न शक्तिपिठ र मठमन्दिरहरुमा नित्यपूजा बाहेक अन्य पूजामा रोक लगाइएको छ ।

यस्तै बैतडीमा पनि चाडपर्वका बेला भीडभाड बढेर कोराना संक्रमणको जोखिम बढ्ने भन्दै लकडाउन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो । प्रशासन कार्यलयले दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको छ ।

साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागि नगर्न नगराउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

राजनीतिक दल तथा भातृ सङ्गठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा भीडभाड तथा जमघट नगर्न प्रशासनले आग्रह गरेको छ ।

बैतडीमा दशैँ तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।