भोलि शनिवारदेखि बडादशैँ शुरु हुँदै,घटस्थापनाको साइत र विधि यस्तो छ

झापा / कात्तिक १ गते अर्थात भोलि शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।

दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको उहाँले बताउनुभयो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।