चेतनाले आधुनिक बन नारी तिमी

’नारी’ शब्द मात्र हैन यो एउटा विम्ब पनि हो । नारी एउटी आमा हुन् र छोरी, दिदी, बहिनी, श्रीमती यी सब हुन् । वास्तवमा हाम्रो समाजको प्रतिसकार्तात्मक सोचले दबाएको एउटा शक्ति पनि हुन् नारी ।

खुशी मान्नु पर्छ नारी त्यो चङ्गुलबाट बिस्तारै बाहिर निस्किन थालिसकेकी छन् । हाम्रो समाजले सुशीलता, शालिनता इत्यादिको नाममा नारीलाई कैदी हुनुपर्ने संस्कार स्थापित गरेको छ । तर के सोच्दैन भने नारी मात्र सुशील र शालिन भएर समाज सुन्दर बन्न सक्दैन, प्रत्येक मान्छेमा नै यो लागू हुनुपर्दछ ।

नारीले यो गर्न हुने, त्यो गर्न नहुने भन्ने संस्कारिक नियमहरू झट्ट हेर्दा सभ्य समाजका चिह्न जस्तो लागेता पनि त्यसको अन्तर्य भने कुनै पनि बहानामा नारीलाई एउटा संकुचित दायराभित्र राख्ने र पुरुष स्वच्छन्द हुने उद्देश्यले समयका विभिन्न कालखण्डमा लादिएको प्रष्ट हुन्छ । अनि यस्ता जबरजस्ती लादिएका पक्षहरूबाट निस्कँदै गर्दा नारी कतै न कतै अतिवाद तिर गएको लान्छना पनि लाग्ने गर्दछ ।

नारीको आफ्नो प्राकृतिक स्वभाव मात्र नभई त्यसलाई जिवन्त राख्न सामाजिक संरचनाको अनुकुलनलाई कायम गर्दै परिवर्तनका पक्षमा पाइला चाल्नु आजको आवश्यकता हो । तसर्थ आज यहि बिषयमा थोरै आफ्नो मत राख्ने जमर्को गरेकी छु । तिमी २१औँ शताब्दिका नारीहरु भौतिक सुविधा सुख सयलमा रम्ने, मिठो खाने, राम्रो लगाउने, डुल्नेघुम्नेद अनि आधुनिकताका नाममा फेसन देखाउनेमा हद भन्दा ज्यादा खुल्ला भएकी छौ ।

कुनै चाडपर्व आउने बितिक्कै वा आउनुभन्दा अगाडिबाटै विलाशिताको प्रदर्शन गर्ने, महँगा आभुषण र वस्त्रमा हैसियत भन्दा धेरै खर्च गरेर आफूलाई विशिष्ट देखाउने भावनाले प्रेरित हुने होड चलाएकी छौ ।

अनि त्यो निरर्थकको प्रतिष्पर्धाका लागि आफ्नो आमदानी भन्दा बढि खर्च गर्दा आफ्नो स्वतन्त्रता र आफ्नो जीवनको मूल्यलाई नै बन्धक बनाएको पनि थाहा पाएकी छौ कि छैनौ ? समय अनुसार चल्नु नराम्रो होइन तर संसार हामीले सोचेको भन्दा अगाडि बढिसकेको हेक्कै नपाई केवल देखावटीको दुनियाँमा मात्र आफूलाई सिमित गर्दा आफूमात्र नभई अब आउने पुस्ता समेत पछाडि पर्छ भन्ने कसले बुझाईदिनु पर्ने हो तिमीलाई ? तिमीले आफ्नै चेतनालाई बन्धक बनाउँदा खडा भएको गम्भीर प्रश्न होइन र यो ? राम्रो लगाउँदैमा, मिथो खाँदैमा, वाईन र बियरमा रमाउँदैमा, खुट्टामा कालो धागो बाँधेर टाउकोमा कालो चश्मा राख्दैमा, ह्याप्पी बर्डे र ह्याप्पी म्यारिज एनिभर्सरीमा व्यस्त हुदैमा अनि अर्धनग्न भएर फोटो खिच्दैमा, आधुनिक नारि मानिन्छ्यौ र तिमी ? बैबाहिक समारोह होस् या कर्मकाण्ड केवल एक अर्कालाइ पहिरन र भोजनमा दाँज्ने प्रतिस्पर्धा त केवल आडम्वर र पाखण्ड हो ।

विश्वमा जात, धर्म, वर्ग, लिंग, पेशा कुनै पनि आधारमा मानिसको तुलना हुदैन भन्ने चेतना प्रवाहित भइरहेको बेला तिमी आफैँ यस्ता अर्थहिन प्रतिष्पर्धामा आफूलाई सिमित राखेर कहिले आफूलाई महान त कहिले हिन सम्झिन बाध्य छौ । यो कुरा भन्न पनि कति नमज्जा आइरहेछ, यस्तै उत्तेजित पार्ने तिम्रै कर्मले पनि नारी जातीलाई अहिले असुरक्षित र हिन बनाएको छ।

तिमीले नजानीकनै खोजेको सुन्दरता पक्कै तिमिले गरेको जस्तो ब्याबहारमा छैन । तिमिले खुट्टामा बाधेको कालो धागो हेर के त्यस्ले तिमिलाई राम्री देखाएको छ त? तिमिलाई खुव राम्रि देखियो झैँ लाग्दो हो, हैन र ? तर यथार्थ त्यो हुदैन मित्र ! सुन न नारि तिमीलाई घर र समाजकी गहना भनिन्छ, तर तिमी आफैँले तिम्रो घर नियालेकी छौ ? कति अस्तव्यस्त छ ? आफूलाई फूल झैँ बनाउन हजार कोशिस गर्छ्यौ, खै तिम्ले सबेरै पुज्ने भगवानका लागि तिम्रा आगनमा फूल ? पुरुष नारी जो कोहि बिहानी को सुरुवात सहित दिनको अन्त्य सम्म घर काम यताउता गर्न सक्छन् ।

तर मोबाइलमा चर्तिकला बाहेक केही नगरेर बाल मजदुर बनि रमाउने पक्कै तिम्रो स्वाभावमा फरक हैन अतिवाद आएको छ । परिवर्तनको अर्थ यति फरक पक्कै हुदैन । अरूले बुझाउँदैन, तिमी आफैँले बुझ्नु पर्छ । तिमी यो युगकी नारी हौ, जो आफ्ना हक अधिकारको लागि कति लडेकी छौ । तर यस्को मतलब यो हैन कि सभामा गएर आफ्ना हक माग्ने तर ब्याबहारमा कहिँकतै जहाँसुकै आफूलाई नै भ्रर्मित पार्ने गरि उत्रिने ।

यसले तिमीले आफूलाई शिक्षित भनेर उभ्याएको पक्ष पक्कै हाँसो लाग्दो हुनेछ र तिमीले चाहेको परिवर्तन पनि मजाक मात्र बन्नेछ । अरुलाई दोष दिएर आफू सक्षम छु भन्नू भन्दा आफू कस्तो के गर्दैछु राम्रोसँग ऐनामा हेर्नू उचित हुनेछ । हाम्रो जस्तो अनेकौँ पछौटेपनले भरिएको समाज आधुनिकता नाममा अतिवाद तिर धकेलिएको यो समयमा तिमीले कर्मशिल र सक्षम बनेर सहि बाटो देखाउनु छ ।

आफ्नो चेतनाले सभ्य र सुशील बन्नु छ । अनि प्रकृतिले तिमीलाई बनाएको दया, प्रेम र करूणाको प्रतिमूर्ति बनेर के नारी, के पुरूष सबैलाई प्रेरित गर्नुछ । यसरी मात्र कहिँ कतै दबिएका तिम्रा सपना, कैद बनेका रहर अनि खोसिएका अधिकार सुरक्षित हुनेछन् र तिमी निसंदेह शिर ठाडो पारेर हिडन सक्छ्यौ ।