दसैं र कोरोना त्रास

विनोद नेपाल

विश्व कोरोना त्रासमा छ । कोरोना भाइरस कोभिड–१९ बाट हालसम्म संक्रमित हुनेको संख्या झन्डै चार करोड पुगेको छ । विश्वभर कुल संक्रमितमध्ये झन्डै २ करोड ७५ लाख कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या ११ लाख नाघिसकेको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी, झन्डै ८१ लाख संक्रमित छन् । सबैभन्दा बढी मृत्यु पनि त्यहीँ नै भएको छ, जहाँ झन्डै २ लाख २० हजारले ज्यान गुमाएका छन् । भारत र ब्राजिल कोरोना संक्रमणका दृष्टिले दोस्रो र तेस्रो स्थानमा छन् । भारतमा झन्डै ७५ लाख तथा ब्राजिलमा झन्डै ५५ लाख संक्रमित भएका छन् । चौथो स्थानमा रहेको रुसमा झन्डै १५ लाख संक्रमित छन् । नेपाल पनि कोभिड प्रभावित मुलुकको सूचीमा ४० मुलुकभित्र परिसकेको छ । हामीकहाँ संक्रमित हुनेको संख्या झन्डै १ लाख ३५ हजार, निको हुनेको संख्या झन्डै ९३ हजार र मृत्यु हुनेको संख्या ७ सयभन्दा बढी पुगिसकेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ प्रकोपले ठूलो मानवीय एवं आर्थिक क्षति गरेको छ । यस महामारीले स्वास्थ्य सँगसँगै आर्थिक संकट पनि सिर्जना गरेको छ । यसले गर्दा एकातिर जनजीवन असहज भएको छ भने अर्कोतिर आर्थिक क्रियाकलाप प्रभावित भएका छन् । यसले गर्दा उत्पादन र आपूर्ति घट्ने, अभाव हुने तथा अवसरको अभाव हुने, रोजगारी गुम्ने र गरिबीतर्फ धकेलिने मानिसको संख्या वृद्धि हुने सम्भावना छ । गत डिसेम्बरको अन्त्यमा चीनमा देखापरेको यस भाइरसले विश्वका प्रायः सम्पूर्ण मुलुकलाई प्रभावित पारेको र यसले ठप्पप्रायः भएका गतिविधि पुनः सुचारु गर्ने प्रयत्न भइरहेपनि संक्रमण र मृत्यु दर नघट्नु तथा अहिलेसम्म खोप पत्ता लागि नसक्नुको कारण मानव जाति र विश्वकै भविष्य माथि प्रश्नचिह्न लागिरहेको छ ।

कोरोना त्रासका बीच यतिखेर हामी हाम्रो सबैभन्दा ठूलो पर्व दसैंका सम्मुख छौं । धार्मिक तथा सांस्कृतिक विविधता तथा विभिन्न सम्प्रदाय बीच अनुपम सहिष्णुता भएको हाम्रो मुलुकमा थुप्रै चाडपर्व मनाइन्छन् । तर दसैं हिन्दू धर्मावलम्वी नेपालीको सबैभन्दा ठूलो र चाड भए पनि यो समस्त नेपालीको साझा चाड हो र यसलाई सबैले आआफ्नै ढंगले मनाउँदै आएका छन् । घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म मनाइने यस चाडअन्तर्गत महानवमीसम्मको नवरात्रिको अवधिमा विभिन्न शक्तिपीठमा गई देवी भगवतीको पूजा आराधना गर्ने गरिन्छ भने विजयादशमीको मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने चलन छ । टीकाको क्रम अनुकूलता अनुसार पूर्णिमासम्म चल्छ । यस वर्षको दसैं नजिकै आए पनि यो चाडले नेपाली समाजमा खासै उत्साह ल्याउन सकेको छैन । कारण हो उही कोभिड–१९ महामारी ।

चाडपर्व दुःख बिर्सेर सुख र खुसीमा रमाउने क्षणहरू हुन् । दसैंमा परिवारका सदस्यहरू एकै स्थानमा जम्मा भई सुखदुःख साट्ने र चाड मनाउने प्रचलन हामीकहाँ रहेको छ । यसैले पेसा, व्यवसाय र रोजगारीका लागि घर परिवारभन्दा टाढा स्वदेश तथा विदेशमा रहेका पैतृक थलो फर्कने हाम्रो चलन हो । पछिल्लो समय यसमा भिन्नता आएको छ । कारण हो पारिवारिक संरचना अर्थात् सामूहिक परिवारमा बस्ने प्रचलनमा आएको परिवर्तन अनि परिवारबाट टाढा रही काम गर्नुपर्ने बाध्यात्मक अवस्था । द्वन्द्व तथा राजनीतिक अस्थिरताको कारण मलुकभित्र रोजगारीको अवसर सिर्जना नहुँदा सक्रिय उमेरको जनशक्ति पारिवारिक दायित्व पूरा गर्न अर्थात् आफूमा आश्रितहरूको पालन पोषणका लागि आर्जन गर्न विदेशी भूमिमा श्रम बेच्न बाध्य हुनुपरेको यथार्थबाट कोही अनभिज्ञ छैन । यसले गर्दा पनि हाम्रा चाडपर्वको रौनक पछिल्लो समय घटेको छ । यस वर्षको दसैंमा चाहिँ खासै उत्साह देखिएको छैन । कारण हो कोरोना भाइरस कोभिडको सन्त्रास । र, यस वर्ष दसैंमा धेरैले परिवारसाथ सँगै दसैं मनाउन पाउने अवस्था छैन । स्वदेशमै रहेका त एकै ठाउँमा बस्न सम्भब छैन भने विदेशमा भएकाका लागि त झन् यो कठिन नै छ ।

सरकारी तथ्यांकले नै यसरी जाने ५० लाख भन्दा बढी छन् भने अवैध माध्यमबाट जानेको संख्यासमेत गर्दा झन्डै ७५ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । मुलुकभित्रको शैक्षिक वातावरण उपयुक्त नहुँदा गुणस्तरीय शिक्षाका लागि बिदेसिएका युवाहरूको संख्या पनि हरेक वर्ष बढ्दो छ र यो निकै ठूलो छ । तीमध्ये निकै कमले मात्र दसैंको रमाइलो परिवारका साथ मनाउन पाउने गरेका छन् । यद्यपि बिदेसिनेको श्रमले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग गरेको छ । तर, एकातिर चाडबाडका समयमा आफ्ना परिवारस“ग पनि स“गै बस्न नपाउने अवस्था छ भने अर्कोतिर उत्पादन घटेको कारण मुलुक आयातमुखी भएको छ । सुन्दर भविष्यको खोजीमा बिदेसिनेमा सक्रिय उमेरका युवाको संख्या नै ठूलो रहेको र यसबाट पारिवारिक विचलन एवं सामाजिक मर्यादामा परेको नकारात्मक असरको अर्को पक्ष त झनै चिन्ताजनक छ । यसैगरी उच्च शिक्षा आर्जन गर्नका लागि विदेश जानेहरू राम्रा अवसर प्राप्त गरी उतै भुल्नु पनि मुलुकका लागि ठूलो र अपूरणीय क्षति हो ।

सरकारले केही वर्षमै वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य हुने हौवा पिटाए पनि यसमा विश्वास हुने आधार देखिँदैन । बरु सक्रिय उमेरका युवालाई विदेशतिर धकेल्न पाए ती सचेत नागरिकका तर्फबाट सरकारका गलत कामको विरोध हुने सम्भावना नरहने र सुरक्षित महसुस गर्न खोजेको महसुस हुन्छ । स्वदेशमा रोजगारीका लागि उद्योगधन्धा, कलकारखानाहरूको स्थापना र विस्तार हुनुपर्छ, उत्पादन र व्यापार बढ्नुपर्छ, सेवा क्षेत्रको विस्तार हुनुपर्छ । तर, त्यस्तो अवस्था र वातावरण निर्माण हुन नसकेको अवस्थामा स्वदेशमा रोजगारीको भाषणले मात्र युवालाई आश्वस्त पार्न सकिने अवस्था रहँदैन र राज्यसँग आश्वस्त हुन सकिने अवस्था पनि रहँदैन ।

निश्चय नै मुलुकको परिस्थिति फेरिएको छ । संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण तथा अस्थिरता र अन्योल हुन गएको छ । तीनै तहका निर्वाचन सम्पन्न भएपश्चात मुलुक नयाँ परिवेशमा प्रवेश गरिसकेको छ । एउटै दलको स्पष्ट बहुमतको सरकार सत्तासीन छ । सरकारले राम्रा तथा आकर्षक योजना र कार्यक्रमहरू सार्वजनिक गर्दै केही गर्ने प्रयत्न गरेको हो कि भन्ने आभास दिलाए पनि परिणामहरू देखिन सकेका छैनन् । विधिको शासनको प्रत्याभूति हुन सकेमा मुलुकभित्र आर्थिक गतिविधि बढ्ने र त्यसले स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुका साथै वैदेशिक निर्भरता कम हुन जानेमा आशावादी हुन सकिन्छ । तर सरकारको नीति र व्यवहार अर्थात् भनाइ र गराइमा ठूलो भिन्नताले विश्वस्त हुन सक्ने अवस्था भने छैन ।

ज्ञातव्य छ, कुनै पनि मुलुकको विकास अरू कसैले गरिदिएर हु“दैन, आफैले गर्नुपर्छ । हाम्रा आवश्यकता र सम्भावनाका जानकार र विज्ञ हामीभन्दा अर्को कोही हुन सक्दैन । हामीलाई हामी स्वयंंले जति अरुले चिन्न र बुझ्न सक्दैनन् । तर, हामीमा आफूलाई चिन्न सक्ने क्षमताको अभाव छ र हामी परमुखापेक्षी भएका छौं । अरुका सामु हात पसार्ने अवस्था विद्यमान छ । मुलुकको विकासमा मुलुककै सक्रिय उमेरका युवाको श्रम, सीप र सक्रियता आवश्यक हुन्छ । तर, युवाहरू अवसरको खोजी र गा“सको जोहो गर्न बाहिरिएका छन् । यसैले हाम्रो मुलुक वृद्धाश्रम जस्तो भएको छ । आराम गर्नुपर्ने तथा सुरक्षित महसुस गर्नुपर्ने उमेरका पाकाहरू निराशा र चिन्ता भोग्दैछन् । असुरक्षा महसुस गर्दैछन् । जवसम्म युवाहरूलार्ई मुलुकको विकासमा सहभागी गराउन र तिनका ऊर्जाको सदुपयोग गर्न सकिन्न, युवा शक्तिलाई मुलुकभित्रै रोजगारी उपलब्ध गराउने गरी उद्योग धन्दा र व्यवसाय सञ्चालन गर्न सकिँदैन, तबसम्म समृद्धि सम्भव हु“दैन र चाडबाडमा आफ्ना परिवारसाथ खुसियाली मनाउने अवसर प्रदान गर्न सकिँदैन । यसैगरी, यस्तो अवस्थामा सामाजिक विचलन र विकृतिको अन्त्य तथा वृद्धवृद्धालाई सुरक्षा र संरक्षण पनि प्रदान गर्न सकिंदैन । यी सबै कुराका जानकार हामी सबै छौं ।

वर्तमानको कुरा गर्दा, सरकार सक्षम छ । तर, सरकार सही दिशातर्फ लाग्न सकिरहेको छैन । शक्तिशाली भनिएको सरकारको अढाइ वर्ष अर्थात् आधा कार्यकाल कुरैकुरामा व्यतीत भएको छ । हुनुपर्ने कामहरू हुन सकेका छैनन् । जनमुखी हुनुपर्ने सरकार नेतामुखी र स्वार्थमुखी भएको छ । सरकारले ‘विकास र समृद्धि’को नारा अघि सारेको छ । ‘समृद्ध नेपाल,सुखी नेपाली’ आफ्नो लक्ष्य भएको बताउँदै आएको छ । हाम्रा आवश्यकताका बारेमा धेरै चर्चा परिचर्चा भएका छन् । आत्मनिर्भरताको कुरा पनि गरिँदै आएको छ । तर, सोअनुरूप योजना र कार्यक्रमहरू अगाडि बढाउने सकेको छैन । विकास, समृद्धि र अवसरका कुरा भाषणमै सीमित छन् । बेरोजगारी अन्त्य र रोजगारीका कुरैकुरामा मात्र सीमित छन् । राजनीतिक स्थायित्वसँगै समृद्धिको मार्ग प्रशस्त हुने भनिए पनि अझै पनि संक्रमणकालीन अवस्था भन्दा भिन्नता देखिन सकेको छैन । शक्तिको दम्भले गर्दा सत्तारूढ दलको आन्तरिक कलह साम्य हुन सकेको छैन । यसको असर सबैतिर परेको छ । अन्योलकै निरन्तरता छ । आश्वासन दिने काम नगर्ने क्रम जारी नै छ । नेताका स्वार्थ पूरा गर्ने क्रम टुटेको छैन । स्थिरताको आशा गरिएपनि त्यसतर्फको अग्रसरता महसुस गर्न सकिएको छैन । संघीयता र लोकतन्त्र नै संकटमा पर्न पुगेको महसुस भएको छ ।

विजया दशमीलाई हामी अन्यायको विरुद्ध न्याय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवको रूपमा हर्षोल्लास साथ मनाउने गर्दछौं । हामीले राजनीतिक अस्थिरताको रूपमा रहेको आसुरी शक्तिमाथि त विजय प्राप्त ग¥यौं तर रोग,भोक,अभाव, असुरक्षा, अन्याय, विभेद र हिंसालगायत विभिन्न किसिमका अपराधमाथि विजय प्राप्त गर्न बाँकी नै छ । स्वाभिमानी नागरिकको रूपमा आत्मसम्मानका साथ जिउने हाम्रो प्रयासलाई सार्थक बनाउन बाँकी छ । विधिको शासनको प्रत्याभूति र सामाजिक विभेदको अन्त्यको प्रयासमा विजय प्राप्त गर्नु बाँकी नै छ ।

हामी यसपालिको दसैं अत्यन्त असहज परिस्थितिमा मनाउँदै छौं । एकातिर महामारीको त्रास छ, स्वदेशमै भएर पनि आआफ्ना पैतृक थलोमा जाने वातावरण छैन भने अर्कोतिर यसपालि कोरोनाकै कारण लाखौं नेपाली युवा रोजगारी गुमाएर स्वदेश फर्केका छन् । तिनको उचित व्यवस्थापन गर्नु र तिनको सीपको स्वदेशमै उपयोग गरी बाँझा जमिन हराभरा पार्ने र मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउनु आवश्यक छ ।

अन्त्यमा, सबै किसिमका दुःखपीडा बिर्सेर चाड मनाउनुको मजा बेग्लै हुन्छ । यस्तो वातावरण बनाउनु मूलतः सरकारको ध्यान पुग्नुपर्छ । जनताप्रतिको दायित्वबोध गरी राजनीतिक नेतृत्वले आफूलाई इमानदार र जिम्मेवार ढंगमा अगाडि बढाउने हो भने त्यसको सम्भावना छ । फेरि एकपटक कामना गरौं, यो महान् पर्वले हाम्रा नेतालाई यो सद्बुद्धि देओस्, एकपटक पाएको मत र हैसियत सधैं प्राप्त नहुन सक्छ भन्ने बुझाउन र शक्तिशाली हुनुको दम्भबाट मुक्त गराई देश र जनताप्रतिको जिम्मेवारी बोध गराउन सकोस् । आजको यस सन्दर्भमा सबैले समाजमा व्याप्त विकृति विसंगति, विभेद र अभावविरुद्ध लड्ने संकल्प गर्ने र जोजहाँ छौं त्यहीँ नै सुरक्षित रही परिस्थितिअनुसार यस चाडलाई खुसीसाथ मनाउन सक्यौं भने त्यो निकै राम्रो हुनेछ । मानवजातिलाई महामारीको त्रासबाट छिटै मुक्ति मिलोस्, सबैमा विजया दशमीको हार्दिक शुभकामना ।