गौरादह प्याब्सनलाई इस्टुको चेतावनी , ३२ वटै बिद्यालय बन्द गरेको घोषणा ( विज्ञप्ति सहित )

झापा: / संस्थागत बिद्यालय शिक्षक संगठन (इस्टु) गौरादह नगरपालिका भित्र रहेका निजि बिद्यालय बन्द गरेको घोषणा गरेको छ । निजि बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई लामो समय देखि तलब रोकेर अमानवीय व्यवहार गरेको भन्दै इस्टु गौरादह नगर समितिले आज मंगलबार एक बिज्ञप्ती जारी गरि अनिश्चितकालका लागि बिद्यालयहरु बन्द गर्न बाध्य भएको जनाइएको छ । इस्टु नगर अध्यक्ष सन्जिवबहादुर कार्की र सचिब खेमराज पाण्डे द्वारा हस्ताक्षर गरि जारी गरिएको बिज्ञप्तीमा प्याब्सन झापा र इस्टु झापा बिच भएको सहमति स्मरण गराउदै आफ्नै संगठनको माथिल्लो समितिले गरेको निर्णय अवज्ञा गर्ने छुट गौरादह नगर प्याब्सन लाई नरहेको भन्दै तुरुन्तै तलब उपलब्ध गराउन माग गरिएको छ ।

बिज्ञप्तीको पुर्ण पाठ यस्तो छ:

‘गौरादह नगरपालिकामा संचालित ३२ वटा निजि बिद्यालय मध्ये २९ वटाले आफ्ना शिक्षक कर्मचारीलाई गत वर्ष २०७६ को २ महिना देखि ७ महिना सम्मको तलब भुक्तानी नगरेको तथा ३२ वटै बिधालयले इस्टु र प्याब्सन बिचमा भएको १ महिनाको तलब र १ महिना बराबरको पर्व खर्च तत्काल उपलब्ध गराउने सहमति भए पनि पालना नगरेकोले आजकै मिति बाट यस नगरपालिका भित्रका सबै निजि बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरियो ।
निजि बिद्यालयमा कार्यरत शिक्षक कर्मचारी, चालक, सह चालक, सहयोगी, आया, स्विपर लगायत सम्पुर्णमा निर्णयको पालनामा लागिपर्न, संचालकको प्रलोभन, डर र फुटाएर कमजोर बनाउने सडयन्त्र बाट बच्न अनुरोध गरिन्छ ।
आफ्नै जिल्ला कमिटिको निर्णय अवज्ञा गर्ने प्याब्सनको स्थानीय कमिटीलाई यो हाम्रो निर्णयको विरुद्धमा नजान, संयमित हुन र इमोसनल ब्ल्याकमेलिङ नगर्न अनुरोध गर्दै समस्या समाधानको पक्षमा गम्भीर हुन अनुरोध छ ।
समस्यालाई नजरअन्दाज गरे त्यसबाट उत्पन्न द्वन्द्वले गर्ने भौतिक, मानसिक र अन्य सवै प्रकारका क्षतिको जिम्मा प्याब्सनको स्थानीय कमिटीले लिनुपर्ने पनि स्पष्ट गराइन्छ ।
यस गौरादह नगरपालिका भित्रको समस्याको समाधान गर्न इस्टु जिल्ला कमिटी र इस्टु प्रदेश कमिटीलाई विषेश अनुरोध गर्दछौं ।’