सबैले आ-आफ्नो धर्म निभएका छन्

गुरुले शिक्षा दिदै आशिर्वाद दिन छोडेको छैन । मन्दिर मस्जिद चर्च गुम्बाहरुमा पुरोहितले नृत्यकर्म छोडेको छैन । मल बीउ नपाएर के भो ! किसानले अनाज उब्जाउन छोडेको छैन । स्कुल र कलेज बन्द भएर के भो ! बिद्यार्थीले पढ्न छोडेको छैन, अभिभावकले शुल्क तिर्न छोडेको छैन । स्वास्थ्य सामाग्री नभएर के भो ! डाक्टरले बिरामी जाच्न छोडेको छैन, गरिबले अस्पतालको ढोका चिहाउन छोडेको छैन । नाचघर बन्द भएर के भो ! कलाकारले कला देखाउन छोडेको छैन, दर्शकले हेर्न छोडेको छैन । प्रेसमा सेन्सर लगाएर के भो ! पत्रकारले लेख्न छोडेको छैन । कारकाखाना बन्द भएर के भो मजदुर ले परिश्रम गर्न छोडेको छैन । भोको पेट होस् वा अनिदो, आमाले सन्तान हुर्काउन छोडेको छैन । देश पुरै लकडाउन भएर के भो ! सेमिनार गोष्ठि छलफल बैठक तलब भत्ता सेवा सुविधा कसैले केही छोडेको छैन । सबैले आ(आफ्नो धर्म निभाएका छन् । योभन्दा अष्सल र सत्कर्म दुनियामा अरु केहीं हुँदैन ।
तर, देशमा अष्सल कार्य गर्छु भनी जनताबाट मत लिई सत्कर्मबाट च्युत भएर भागेका नेताहरु सुको लगानी नगरी राजनीतिलाई व्यापार बनाई हात्ती छाप चप्पलबाट रातारात अर्बपती भएकाहरुको संख्या गनी साध्य छैन । सर्बहारा वर्गको नेतृत्व लिई क्रान्ति गर्दागर्दै क्रान्ति सफल भएको दिन सर्बहारा नेता अर्बपती बनिसकेको हुन्छ । यो देखेर छक्क पर्नेहरुको पनि कुनै कमी छैन र अचम्म मान्नेहरुको पनि । जयजयकार गर्नेहरुको पनि कुनै कमि छैन । नेता ज्यूँहरुका बोलीबचन र व्यवहार देखेर आजित भएका बहुसंख्य जनताहरुलाई वहाँहरुका मुखारा बिन्दुबाट पटक-पटक प्रष्फुटित हुने लोकतन्त्र र गणतन्त्रको मीठो परिभाषाले यतिका वर्ष बितिसक्दा पनि आशा नमारी पर्खेर बस्ने जमातहरुले प्रत्येक शब्द-शब्दमा ताली बजाउँदाको रमाईलो दृष्य देख्न पाउँदा आफ्नो धर्म निभाएको आभास हुन्छ । खुशी नै मान्नुपर्छ, अनेकौं व्यवस्था परिवर्तनसँगै आशा मात्र पालेर बाँचेकाहरु ले पनि धर्म निभाएकै छन् ।

राज्य कोषबाट उपचारको नाममा बारम्बार करोडौं रुपैयाँ लिएर, गत चैत्रदेखि हाम्रो प्रधानमन्त्री ज्यूँले तलब भत्ता लिनुभएको छैन भनेर सामाजिक संञ्जालदेखि व्यक्तीगत लगानीका अनलाईन मिडियाहरुमा भगेरे टाउके अक्षरमा प्रधानमन्त्री पदलाई नै महान बनाईदिने संगठीत, गणेशमानको भाषामा भेंडाहरुले पनि आफ्नो धर्म निभाएकै छन् । हाकाहाकी ७० करोड कमिशनको अडियो डिल बाहिर आउँदा बचाउ गर्नेहरुले पनि धर्म निभाएकै छन् । जनताले अयोग्य ठहर्‍याएकालाई आफ्नै बाउको बपौती सम्झी ओपन च्यालेञ्ज गर्दै सिंहदरबार छिर्दा पनि बचाउ गर्नेहरुले धर्म निभाएकै छन् । संसार कोरोनाको माहामारीमा लडिरहेको छ । हाम्रा नेतागणहरु एकाअपसको लडाईमा व्यस्त हुनुहुन्छ यसलाई पनि आफ्नो धर्म निभाएकै मान्नुपर्ने हुन्छ (यस्को फेरहस्ती निकै लामो हुन जान्छ) । आत्तिनु पर्दैन कोही, डराउनु पर्दैन यहाँ । सबैले आ-आफ्नो धर्म निभाएकै छन् ।
अलिकती इतिहासतिर जाऔं । केही वस्तु (चिज)को अभाव वा कसैको प्रभाव या दवाबमा परेर हो (राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको तस्बिरलाई आगो सल्काई गर्मी याममा पनि आगो ताप्नेहरुले आफ्नो धर्म निभाएकै मान्नु पर्छ ।) आफ्नो स्वभिमानलाई उच्च राख्दै अभाव प्रभाव र दवाबले रत्तीभर नछुने, राष्ट्रियतालाई सर्वोपरी राख्दै तिनै पृथ्वीनारायणलाई माल्यार्पण गर्नेहरुले पनि आफ्नो धर्म निभाएकै छन् । राष्ट्र निर्माणमा योगदान पुर्याउने अग्रज र पुर्खाहरु वंशु गुरुङ्ग, बलभद्र, अमरसिंह, भक्ती थापा, गोपी च्यामे, बहादुर शाहको जन्म मिति याद नहुने तर, यो देशको निम्ति काही कतैबाट साईनो सम्बन्ध नभएका र यो देशलाई कुनै योगदान नदिएका मार्क्स, लेनिन, माओ, च्वे आदिको जन्मत्सव हर्षोल्लासका साथ मनाउनेहरुले पनि धर्म निभाएकै मान्नु पर्छ । स्मरणः रहोस (कतिलाई त आफ्नो जन्मदिने आमा(बुवा को जन्म मिति पनि याद नरहेको पाएको छु ।

राजा एउटा शक्ति हो कम्निस अर्को शक्ति हो भन्दै राज संस्थालाई स्वीकार गर्ने बहुदलीय जनवादका प्रणेता मदन भण्डारीलाई गणतन्त्रको अनुयायी सम्झदै जन्मोत्सव र मृत्युञ्जयमा अभिनन्दन गर्नेहरुले पनि धर्म निभाएकै छन् । राजासँग मेरो घाँटी जोडिएको छ, राज संस्था नरहे नेपाल रहदैन भन्ने प्रजातान्त्रिक समाजवादका प्रणेता बिपी कोइरालालाई गणतन्त्र दिवसको दिन फुलमाला र अबिरले तस्वीर सजाउनेहरुले पनि आफ्नो धर्म निभाएकै छन् । त्यसैले त म फेरि भन्छु यहाँ कोहि विधर्मी छैनन् । सबै-सबै धर्ममा व्यस्त छन् । माहोल शान्त छ । चित्त नबुझ्ला (सार्भमौसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्रीलाई विदेशी देशको गुप्तचर विभागको जागिरेलाई देवदुत नै सम्झी कुटनैतिक मर्यादाको खिल्ली उढाउदै भेटवार्ता गर्दा सिङ्गो मन्त्रीमण्डल कै बचाउँ गर्ने परराष्ट्र मन्त्रालयले पनि आफ्नो धर्म निभाएकै छ ।
हो म मान्छु ! मान्छेको कुनै जात हुँदैन । शास्त्रले पनि यहीँ भन्छ, बेदले पनि । धर्म संस्कार संस्कृती परम्पराले मान्छेलाई बन्धनमा राखेको हुन्छ, मानवीय आचरण को निम्ति । सत्ता सुखभोग गर्नेहरुले पनि धर्म निभाए, सत्ताको बिरोध गर्नेहरुले पनि । जुनसुकै व्यवस्था होस् समर्थन गर्नेहरुले पनि धर्म निभाए कै छन् । राज्य जस्तोसुकै तरिकाले चलोस् जनताको मौनताले सबैभन्दा ठूलो धर्म निभायो । सारमा भन्नू पर्दा (राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्नेहरुले पनि धर्म निभाए । मान्छेको कुनै जात नभए पनि माथीका यी परिदृश्यले मान्छेमा प्रकार (किसिम) हुँदो रहेछ भन्ने देखायो । विभिन्न किसिमका अनेकन मान्छेहरुको भिडले आफ्नो आस्तित्वको रक्षा गर्दै, धर्म निभाउँदै धर्मात्मी बनेका छन् । त्यसैले यहाँ कोहि बिधर्मी छैनन् र नहुन् पनि । श्री पशुपतीनाथले हामी सबै को कल्याण गरुन् ।

मेचीनगर-१२, धाईजन
हाल- अरबबाट