शेरधनको काउन्टर : आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन्।

मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-माधव पक्षका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ती सांसदलाई मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका कारणसहित प्रष्टीकरण सोधका थिए।

प्रष्टीकरण सोधिएका १९ मध्य १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् ।

चार जना सांसदले भने प्रष्टीकरणको जवाफ फर्काएका थिए । लिखित जवाफ दिएको भन्दै मुख्यमन्त्री राईले सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईमाथि भने कुनै कारबाही गरेका छैनन्।

निलम्बनमा परेका सांसदहरुमा भीम प्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहांङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।

यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेताबाट शेरधन राईलाई हटायो, भीम आचार्य चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ। बिहीबार आकस्मिक संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निणर्य गरेको हो ।

पुस १९ गते संसदीय दलको बैठक बोलाएकोमा पुनः बैठक सारेर बिहीबार बिहानै बैठक राखेर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निणर्य गरेको हो । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिनथालेपछि आकस्मिक रुपमा बैठक बोलाएर बर्खास्त गर्ने निणर्य गरेको संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिए। केटिएम दैनिकबाट