आधुनिक सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । आधुनिक बचत तथा ऋण सहकारी संस्था (आबस) को ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोरोनाको प्रभावले संस्थाको कार्यालय काँकरभिट्टामा सञ्चालन गरिएको साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख बिमल आचार्यले गरेका थिए ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए ।

नगर प्रमुख आचार्यले विधि, प्रविधिमैत्री सेवा दिँदै सदस्यहरुलाई अधिकतम सुविधा प्रदान गर्ने रणनीति तय गर्न सहकारीलाई आग्रह गरे ।
संस्थाले पुस १२ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानमा सदस्यहरुबाट सुझाव संकलन गर्दै सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको प्रतिवेदन अनुमोदन गराएको थियो ।

शुक्रबार साधारण सभामा सदस्यहरुको प्रतिधित्व गर्दै विभिन्न समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।
२०६८ सालमा स्थापना भएको संस्थाको आर्थिक वर्ष ०७६/०७७ को अनुसार मसान्तसम्म कुल पुजी १९ करोड ५५ लाख ३५ हजार रहेको लेखा समितिको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.७८ प्रतिशतको वृद्धि दर हासिल गरेको छ ।
कोरोनाको प्रभावका बिच सहकारीले यो वर्ष २५ लाख ४९ हजार खुद नाफा हात पार्दा हाल १३ करोड ३३ लाख ३६ हजार रकम सदस्यहरुमा कर्जा स्वरुप लगानीमा छ ।
संस्थाको कुल शेयर पुजी १ करोड ७४ लाखबढी रहँदा ९ करोड १२ लाख ७६ हजार रकम सदस्यहरुको बचत हिसाबमा छ ।

६ हजार ५ सयबढी शेयर सदस्य रहेको सहकारीमा तीन सम्पर्क कार्यालय र एक प्रधान कार्यालयमा गरी २८ जना कर्मचारी कार्यरत छन् ।
कोरोना कहरका कारण संस्थाले सदस्य सहुलियत योजना अन्तर्गत कर्जाको व्याजमा १० प्रतिशत छुट गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साथै संस्थाले कोभिड १९ महामारीको समयमा विभिन्न संस्थासँगको समन्वयमा १ लाख बढी सहयोग गरेको जनाइएको छ ।

साधारण सभाको अवसरमा संस्थाले १० जना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
उत्कृष्ट बचतकर्ताको रुपमा राम कुमार सुवेदी, भावना उप्रेती, कृष्णबहादुर खड्का, टंकमाया तामाङलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी, उत्कृष्ट ऋणीतर्फ टिकामाया प्रधान, होमबहादुर अधिकारी, सनम राई र वर्षा तामाङ तथा ज्येष्ठ नागरिकहरु सत्तिलाल धिमाल र अम्बिका देवी कट्टेललाई सम्मानसहित पुरस्कृत गरिएको छ ।

सम्मानित हुने सदस्यहरुलाई नगद रु १ हजार तथा प्रमाण पत्र प्रदान गरिएको संस्थाका सहसचिव भुपाल ओलीले जानकारी दिए ।

संस्थाका अध्यक्ष अंगतबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष मेदनी खरेल र सञ्चालन सचिव कमल थापाले गरेका थिए ।

सभाको बन्द सत्रमा उठेका विभिन्न सुझाव एवं सवालहरु संकलन गरी निणर्यार्थ प्रस्तुत गरिरएको र बाँकी रहेका बिषय वस्तुलाई कार्यसमितिको बैठक मार्फत हल गर्दै लैजाने निणर्य भएको संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिए ।