मैले देखेको काङग्रेस‘

हाम्रो देश नेपाल निरन्तर रुपमा अस्थिरताले आक्रान्त बनिरहेको छ । नेपालमा स्थायित्व नआउनुको एउटा प्रमुख कारण राजनीतिक अस्थिरता पनि एक हो ।जुनै जोगी आए पनि कानै चिरिएका भने झै जुनसुकै राजनीतिक पार्टी सत्तामा आए पनि हामी जनताले राजनीतिक स्थिरताको अनुभुति गर्न पाएका छैनौं ।

पेसाले म एक पत्रकार हो, म कसरी पत्रकारिता क्षेत्रमा आए भनेर मैले अगाडी नै लेखिसकेको छु । पत्रकारिता क्षेत्रमा आइसकेपछि मैले राजनीति बुझ्ने मौका पाए । काङग्रेस परिवारमा हुर्केको हुनाले स्वभावैले काङग्रेस प्रति आकर्षित थिए ।

मैले अक्षर चिन्दा मेरो घरमा नेपाली काङग्रेस जिन्दाबाद लेखिएको थियो । गाउँमा बिजुली आउने आउन लागेको थियो भर्खरै बिजुलीका पोलहरु गाडिदै थिए हामी दङ् थियौं । म घरमा प्रफुल्लित हुदै सोध्थे, आमा अब उज्यालोमा बस्न पाउने हो ? कस्ले ल्याएको बिजुली ? गाउँले काङग्रेसले बिजुली ल्याइदियो भनेर खुशीयाली मनाउँथे ।
केही घर बाहेक गाउँ नै काङग्रेसको किल्ला थियो । बिजुलीका पोलमा काङग्रेसका स्लोगनहरु थिए, भर्खरै विधालय जानु थालेको म कस्को घर अगाडीको बिजुलीको पोलमा कुन स्लोगन छ सबै भन्दिन्थे । चारतारे झण्डा फरर,मालेको मुटु थरर ! रुखमा भोट प्रतिक्रियाबादीलाई चोट, गाउँगाउँमा हल्ला छ,रुखमा भोट हाल्ने सल्लाह छ लगायतका स्लोगनहरु अझ पनि मेरो मानसपटलमा घुमिरहन्छ ।

राजनीतिक परिवेश भएकोले घरमा कांग्रेसको आउजाउ निकै हुन्थ्यो । हाम्रो घरमा आउने काङग्रेसी जति सबै आफ्नो लाग्थ्यो । कांग्रेसको ४ तारे झण्डा देख्दा मेरो मन गर्वले फुरुङ्ग हुन्थ्यो । टिभीमा काङग्रेसका नेताहरु देख्दा पनि मन खुशीले हर्षित हुन्थ्यो ।
गाउँमा हुने सानो सानो बिकासको काम, दुखीलाई गरेको सेवा, बाढी आएको बेला गरिब दुखीलाई बाडेको राहत तथा परदेशमा कोही जेलमा पर्दा समेत काङग्रेसको सहायताले सकुशल घर फर्किएका कुराहरु दिनहुँ सुन्न पाउँथे ।

काङग्रेस नेता भएर लड्दा लड्दै जेल परेर राणाबाट मारिनुभएका जिजुबुबा स्व इन्डिवर ओली जस्तो कट्टर काङग्रेस हुनुपर्छ भनेर बुबाले सम्झाइरहनु हुन्थ्यो । हामी ४ जना छोरीमध्ये कोही एकजना राजनीतिमा आइदिए हुन्थ्यो भन्ने बुबाको चाहाना थियो ।

पढाइको सिलसिलामा म काठमाडौं आए, मदन भण्डारी कलेजमा भर्ना पढ्नु थाले । गाउँबाट शहर आएपछि मैले देखेको काङग्रेसको बारेमा पनि धेरै कुरा बुझ्ने मौंका पाए । आर्थिक अभियान दैनिकबाट मैले पत्रकारिता शुरु गरे । आर्थिक पत्रिका भएकोले आर्थिक बिट हेर्ने साथीहरुलाई धेरै महत्व दिइन्थ्यो तर पनि मलाई राजनीतिमा रुची थियो । जिजुबाले दिएको बलिदानको आधारमा काङग्रेसको मापन गर्नु थियो ।
काङग्रेसको समाचार लेख्न पाउँदा दङ्ग हुन्थे । आर्थिक अभियान दैनिकको पृष्ठ ४ मा प्रत्यक आइतबार अन्तर्वार्ता छापिन्थ्यो । मोदनाथ ढकाल दाईसँग अन्तर्वार्ताको लागि जान्थे । अन्तर्वार्ताको लागि म प्राय कांग्रेस नेताहरु नै चुन्दथे । उहाँहरुसँग कुरा गरेपछि मेरो अनुहारमा छाएको खुशियाली देखेर मोद दाईले भन्ने गर्नुहुन्थ्यो, “तँ पत्रकार होस क्या, कालो काङग्रेस नबन न” म मुसुक्क हासेर टार्थे ।

२०७० साल माघ २८ गते मङगलबार सुशिल कोइराला गणतन्त्रको नेपालको छैटौं प्रधानमन्त्री भए । मेरो बाइलाईनमा फ्रन्ट्र पेजमा नै समाचार छापियो । हुन त राजनीतिका मुल विषयहरुले पहिलो पृष्टमा स्थान पाउँथे तर पनि काङग्रेसको तर्फबाट प्रधानमन्त्री भएको समाचार म स्वयमले लेखेर पहिलो पृष्टमा छापिदाँ खुशीको सिमा नै रहेको थिएन ।
त्यसपछि पनि कांङग्रेसका धेरै समाचार लेखे । साथीहरुले राजनीतिक बिटमा पत्रकारिता गरेर अगाडी बढ्न सकिन्दैन भनेर धेरै सम्झाउनु हुन्थ्यो तर पनि मैले हरेस नखाइ निरन्तर यही कामलाई अगाडी बढाए ।

बिस्तारै राजनीति बुझ्दै गए । देश बिकास गर्ने भन्दा पनि ठूला ठूला सपना बाढ्ने नेताहरुको व्यवहारबाट आजित हुदै गए । मैले देखेको काङग्रेसको असली अनुहार पनि देख्दै गए । मैले एउटा देशको, एउटा जिल्लाको, एउटा सानो गाविसको गाउँबाट देखेको काङग्रेस र बास्तविक काङग्रेसमा धेरै फरक पाए ।
म पनि आफ्नो काममा व्यस्त थिए । पत्रकारिता क्षेत्रमा पाइला चाल्दै थिए । पार्टी कहिले पनि गलत नहोला त्यस्को सिद्धान्त गलत नहोला तर पनि नेतृत्व गर्ने मान्छे चुक्यो भने संस्था तथा पार्टी पनि बदनाम हुदै जान्छ । २०६४ सालमा बम विस्फोटमा परी घाइते भएकाहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेर पोलेको अभियोगमा जेल गएका नेपाली कांग्रेस पार्टीका रौतहट सांसद मोहम्मद अफताव आलम प्रकरणमा कांङग्रेसले गरेको समर्थन देखेर म झस्किए ।

०७६ कार्तिक २ गते पार्टी सभापति शेरबहादुर देउवाको नाममा आएको प्रेस बिज्ञप्तीले मलाई तर्सायो । यदि उनी दोषी हुन् भने कानुन अनुसार कारबाही गर्ने र निर्दोष हुन् भने उनको बचाउमा लाग्नु स्वभाविक नै थियो तर त्यहाँ पार्टी नराम्रोसँग चुक्यो ।

काङग्रेसका समर्थक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले बिरोध गरेपछि काङग्रेसले आफ्नो निणर्य सच्यायो तर पनि आफ्नो समर्थकलाई खुशी पार्न भने सकेन ।

कहाँ चुक्यो काङग्रेस

काङ्ग्रेसीहरुले प्रजातन्त्रको विषयवस्तु उठाउँदा सँगसँगै बिपीको समाजवादका अन्तरवस्तु एवं तिनको व्यवहारमा प्रयोग गरेको भए सायद काङ्ग्रेस आफ्नो उद्धेश्यमा सफल हुन्थ्यो होला । तर कतिपय व्यवहारहरुले गर्दा काङग्रेस नराम्रोसँग चुकेको छ ।

विपीको सिद्धान्तलाई कहिल्यै छलफलको विषय बनाएन । परिणामस्वरूप जनताको मन दुखेको छ म जस्ता धेरै समर्थकहरु निराश भएका छन् । सो विषय अब नेपाली कांग्रेसका क्रियाशील सदस्यदेखि केन्द्रीय पदाधिकारीसम्म, भ्रातृ एवं शुभेच्छुक संस्थाका स्थानीय पदाधिकारीदेखि केन्द्रीय नेतृत्वमा बहस हुनु जरुरी छ ।
नीतिको बहससँगै सो नीतिको प्रयोगमा समेत छलफल गरिनुपर्दछ । वडादेखि प्रदेश हुँदै केन्द्रसम्मको सांगठनिक संरचनालाई देश संघीय संरचनामा गएको हुनाले सोही अनुरूप पाटीको स्थानीयतहदेखि अधिवेशनको लागि महासमितिबाट विधान परिवर्तन गरी संरचनात्मक परिवर्तन गरिनुपर्दछ । विधि र विधानमा रही निणर्य लिने प्रक्रियालाई पद्धतिको रूपमा विकास गरिनुपर्दछ ।

पहिलो पुस्ताबाट कमजोरी देखिएको प्रजातान्त्रिक समाजवादको अभ्यास दोस्रो पुस्तामा पुस्ता हस्तान्तरण गर्दैमा सबै पक्ष सुिध्रन सक्छन् भन्नु गलत बुझाइ हुनेछ । दोस्रो र तेस्रो पुस्ता पहिलो पुस्ताबाट राम्रा कुराहरूलाई ग्रहण गर्दै प्रजातान्त्रिक समाजवादको व्यावहारिक प्रयोग गर्ने रणनीतिक एवं कार्यनीतिक योजनाका साथ आउनु पर्दछ ।
विचार र संस्कारले परिपक्क भई नेतृत्व लिने अवधारणा अघि सार्नुपर्दछ । नेतृत्व हस्तान्तरण लिने र दिने प्रक्रियाभन्दा मुद्दा बलियो बनाउनु पर्दछ । सक्षमताको आधारमा योजनालाई कार्यान्वयन गर्न सक्ने नेतृत्व विकास गर्ने गरी नेतृत्व जवरजस्त नभई विधि र प्रक्रियाबाट हुनु पर्दछ । जनताको दुःखेको मनलाई बुझाउने योजना निर्माण गरिनु पर्दछ ।

तर, ४८ देखि ०७० सालसम्म आइपुग्दा जनताको मन आंशिक रूपमा मात्र दुःखेको थियो । तर अहिले जनताको मन दुखेको छ । प्रजातान्त्रिक समाजवादरुपी सुनको थाल लिएर युरोप र अमेरिकाको पुँजीवादी अर्थव्यवस्थाको भिख माग्ने पद्धतिको अन्त्य गर्न सक्ने सबल नेतृत्व आजको आवश्यकता हो ।

दुई पक्षका दुईथरि योजना

अहिलेको परिपेक्षमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसको आँखा तीनतिर छ । पुनस्थापना ठीकै चुनाव भएनि ठीकै । उनीहरूको ध्यान तीनतिर प्रतिनिधि सभा, निर्वाचन र महाधिवेशनमा छ । महाधिवेशन केन्द्रित दुई पक्षले दुईथरि तयारी गरिरहेका छन् ।

सभापति देउवा कांग्रेसलाई चुनावका पक्षमा उभ्याउन चाहन्छन् । रामचन्द्र पौडेललगायतको समूह ओलीको कदमविरुद्ध सडक संघर्ष गर्नुपर्ने मतमा उभिएको छ । पौडेल पक्ष त संयुक्त आन्दोलन गर्न पनि सहमत थियो र छ । दुवै मतलाई सम्बोधन गर्दै कांग्रेस अहिलेको विषम परिस्थितिलाई रणनीतिक रूपमा उपयोग गर्ने निणर्यमा पुग्यो । अर्थात्, ‘चुनावमुखी आन्दोलन’ । देउवाले महाधिवेशनअगावै आफ्नै नेतृत्वमा चुनावमा जान सके एकातिर सरकार बनाउन सक्ने सम्भावना, अर्कातर्फ पुनः पार्टी नेतृत्व आफ्नै हातमा आउने आँकलन गरेरै चुनावका पक्षमा पार्टीलाई लैजान खोजेको देखिन्छ ।

अब के गर्ने ?

पार्टीको विधानअनुसार कांग्रेस पार्टीको नियमित महाधिवेशन चार वर्षभित्र हुनुपर्छ । असाधारण स्थितिमा थप एक वर्ष बढाउन सकिने व्यवस्था विधानमा छ । विधानको बढाउन सक्ने त्यहीं व्यवस्थाअनुसार पार्टी केन्द्रीय कार्यसमितिले गत फागुनमै एक वर्षको समय थप गरेको हो ।

आगामी फागुनभित्र महाधिवेशन गर्न नसकेपनि बैशाखसम्ममा महाधिवेशन हुने कुरामा धेरै साथीहरु ढुक्क रहेको पाएको छु । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा ५ वर्षभित्र अधिवेशन गर्न नसकेमा थप ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ। कांग्रेसले अब त्यही व्यवस्थालाई टेकेर भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ ।

अत ः म अहिले कुनै पनि पार्टीमा आबद्ध छैन । तर पनि मेरो जिजुबुबा,हजुरबुबा,बुबा आमा लगायत सम्पुणर्को आस्था र बिश्वाससँग जोडिएकोले हुनाले काङग्रेसको हरेक कृयाकलापलाई नियाली रहेको हुन्छु ।  Ktm Dainik बाट