जो-जो ओली समूहमा लाग्नुभएको थियो, हामीतिर आउनुस्: प्रचण्ड-नेपाल

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले ओली नेतृत्वको नेकपामा लागेका नेता/कार्यकर्तालाई आफ्नो पार्टीमा फर्किन आह्वान गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले नयाँ सन्दर्भमा मूल पार्टीमा फर्किन समेत भनेको छ ।

‘जो-जो ओली समूहमा लाग्नुभएको थियो। नयाँ सन्दर्भमा पार्टीको फुटवादी गुटमा लाग्नुभएको कमरेडहरूलाई मूल पार्टीमा फर्किन आह्वान गरेका छौं,’प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’तत्कालको लक्ष्य प्रतिगमनलाई परास्त गरेर संविधानलाई लिकमा ल्याउने थियो। सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने निर्णय गरेकोले संघर्षका कार्यक्रमहरू स्थगित गरेका छौं ।’

प्रतिगमन विरोधी आन्दोलनमा आफ्ना-आफ्ना ठाउँबाट भूमिका खेल्ने सबैलाई बैठकले आभार व्यक्त गरेको समेत उनले बताए ।  सेतोपाटीबाट