प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा नदिए संविधान अनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको राजीनामा नआए संविधान अनुसारनै प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने संविधान अनुसार नै प्रक्रिया अघि बढाउने हाम्रो निर्णय छ,’ श्रेष्ठले भने ।

स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेको छ । ‘सर्वोच्चको फैसलाले प्रतिनिधिसभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ । राजनीति अँध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ,’ श्रेष्ठले भने ।

बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संघर्षमा सक्रिया भएका सबै दल र आफ्ना कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ ।

संविधानको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक अभ्यासको उन्नत र सुदृढ भविष्यमा हातेमालो गर्ने निष्कर्ष बैठकले निकालेको श्रेष्ठले बताए ।

प्रचण्ड-माधव समूहले ओली समूहतर्फ लागेकाहरू फिर्ता हुन चाहे जिम्मेवारीसहित स्वागत गर्ने निर्णय गरेको छ । शिलापत्रबाट