बिर्तामोड वाणिज्य संघको निर्वाचन समितिविरुद्ध अदालतमा मुद्दा

झापा । बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता भएको छ । बुधवार निर्वाचन समिति विरुद्ध उच्च अदालत इलाममा मुद्दा गरिएको हो ।

संयुक्त व्यावसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्षमा उम्मेदवारी दिने उर्मिला विमली खरेलले निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता गराएकी हुन् । उनी उम्मेदवारी दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत इलाम पुगेकी छन् । खरेलले भनिन्, म माथि निर्वाचन समितिले राजनीतिक पूर्वाग्रह राखेर अन्याय गरेकोले न्याय माग्न अदालत गएकी हुँ ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घको फागुन १६ गते निर्वाचन हुदैछ । निर्वाचनको ४ दिन अगाडि मुद्दा दर्ता भएको छ । खरेलले वशिष्ठ टेडर्सबाट उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको उम्मेदवारी दर्ता गरेर निर्वाचन समितिले रसिदसमेत थमाएको थियो । दर्तापछि निर्वाचन समितिले खरेलसहितको नामावली प्रकाशन समेत गरेको थियो ।

रसिद बुझेपछि उम्मेदवारी दर्ता भयो भन्नेमा ढुक्क भए, खरेलले भनिन्, – दाबी विरोधमा फर्म नवीकरण नभएको भन्ने सूचना पाए । दर्तामा बस्नेले सुरुमा केही भन्नुभएन, उनी भन्छिन् – पछि मेरो उम्मेदवारी नै नहुने जानकारी आयो ।

निर्वाचन समितिले फेरि रित नपुगेको सच्याउन सूचना आव्हान गरे पछि खरेलले मानवीय त्रुटि भयो भन्दै आफ्नै अर्को फर्म हिमाली जरिबुटीबाट उम्मेदवारी दिन पाऊ भन्दै समितिलाई निवेदन बुझाइन् । फेरि कागजात नपुगेको भन्दै समितिले उम्मेदवार बन्न नपाउने जनायो । सङ्घको आसन्न निर्वाचनका लागि संयुक्त व्यावसायिक प्यानलले उनै खरेलको नाममा जनसम्पर्क उपाध्यक्षका लागि भोट मागिरहेको छ ।

निर्वाचन समितिले खरेलको उम्मेदवारीलाई स्वीकार गरेको छैन । दोस्रो फर्मबाट समेत आफ्नो उम्मेदवारी अस्वीकार गरिए पछि पूर्वाग्रह स्पष्ट भएको खरेलको भनाई छ । उनले उम्मेदवारी पाउनुपर्ने भन्दै मुद्दा दायर गरेकी हुन् ।

निर्वाचन समितिका प्रमुख शेखर ढकालले यसबारे केही बोल्न चाहेनन् । उनले यसबारे अहिले केही बोल्न नमिल्ने बताए । सिडिओ कार्यालयसम्म यो विषय पुगेको छ , प्रमुख ढकालले भने – थप अपडेट पछि कुरा गरौँला । उनले फर्म उल्टोपाल्टो भएको छ भने ।