प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन

काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सात नेतालाई निलम्बन गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेम्वाङसहित नेकपा ओली समूहले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीविरोधि काम गरेको भन्दै उनीहरूलाई ६ महिनाका लागि निलम्बन गरिएको सो समूहले जनाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भई २३ फागुनमा संसद् बैठक डाकिएको छ । प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तो अविश्वासको प्रस्ताव प्रमुख सचेतक र दलका उपनेतामार्फत अगाडि बढाउनुपर्ने हुन्छ । तर, उपनेता नेम्वाङ ओली समूहमा रहेकाले प्रक्रियागत कठिनाई उत्पन्न भएपछि नेम्वाङलगायतका नेतालाई सो समूहले निलम्बन गरेको हो । शिलापत्रबाट