४० वर्षपछि छोरालाई देखेपछि धनमायाले भनिन्, ‘फोक्से मासु लागेछ’

४० वर्षको नारकीय जीवनबाट मुक्त भएर दुर्गाप्रसाद तिम्सिना आइतबार घर पुगे । इलाम माई नगरपालिका-१० स्थित घर पुग्दा उनको स्वागतार्थ पूरै गाउँ उर्लियो । निलो कुर्ता, सेता सुरुवाल र ढाका टोपीमा सजिएर घर पुगेका दुर्गाप्रसादको घाँटीमा गाउँले, आफन्तले लगाइदिएका माला र खादा थिए ।

घरको पिँढीमा थिइन् ८६ वर्षीया आमा धनमाया तिम्सिना । छोरो भेटियो भन्ने थाहा पाएकै दिनदेखि बाटो कुरिरहेकी धनमायाको प्रतीक्षा अन्तत: पूरा भयो । घर पुगेर पनि नबोलेपछि धनमायाले छोराको अनुहार हेर्दै सोधिन्, ‘के भयो ?’

दुर्गाप्रसादले जवाफ दिन सकेनन् । उनलाई मानसिक अवस्था कमजोर भएको भन्दै भारतको अदालतले जेलमुक्त गरेको हो ।

दुर्गाप्रसादले जवाफ दिन नसकेपछि गाउँलेले जवाफ दिए, ‘धेरै वर्ष जेलमा बसेपछि यस्तो भएको ।’

धनमायाले बुझेको भावमा टाउको हल्लाइन् । एकोहोरो छोरालाई हेरिरहेकी धनमायालाई आफन्तले भने, ‘आमा, परदेशबाट छोराले ल्याएको मिठाइ छ है !’ धनमायालाई छोराले आफ्ना लागि मिठाइ ल्याउँदै छ भन्ने कुरा दिउँसो नै चाल पाइसकेकी थिइन् । छोराले मिठाइ ल्याउँदै छ भन्ने थाहा पाएपछि उनले भनेकी थिइन्, ‘मिठाइ त खाइहालिन्छ नि ।’

धनमायाले दुर्गाप्रसादलाई मिठाइ खुवाइदिइन् । दुर्गाप्रसादले आमा धनमायालाई मिठाइ खुवाएर ४० वर्षपछि खुसी साटे । दुर्गाप्रसाद एकोहोरो आमातर्फ हेरिरहेका थिए । पत्रकारले धनमायालाई सोधे, ‘गाउँ छाड्दा कस्तो हुनुहुन्थ्यो उहाँ ?’

कान कम सुन्ने धनमायाले सोधिन्, ‘के भन्यौ रे ?’

आफन्तजनले चर्को स्वरमा सोधेको प्रश्न सुनाए धनमायालाई ।

‘पहिला लुते थियो,’ धनमायाले दुर्गाप्रसादतर्फ हेर्दै हाँस्दै भनिन्, ‘अहिले त मोटाएछ, फोक्से मासु लागेछ ।’

छोराको छेउमै बसेकी धनमायाले ४० वर्षअगाडि छोराले घर छाड्दाको समय सम्झिँदै भनिन्, ‘देशमा जाने भन्थो । बर्खा आइसक्यो जग्गा केही नाइँ, पैसा छैन भन्थ्यो ।’ शिलापत्रबाट