प्रदेश १ : एमाले संसदीय दलको बैठक भोलि, कस्तो पर्ला एमाले विवादको असर ?

बिराटनगर । प्रदेश- १ को नेकपा (एमाले) संसदीय दलको बैठक ११ चैत (भोलि) मा बस्दै छ ।

बैठकले ९ फागुनमा प्रदेशसभामा टेबुल भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिने प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

‘संसदीय दलको बैठकले माननीयज्यूहरूलाई अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिनेछ,’ उनले भने, ‘मानीयज्यूहरूलाई अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएको निवेदनसहित उपस्थित हुन आमन्त्रण गरिन्छ र उहाँहरू सबैको हस्ताक्षर फिर्ता हुन्छ । जसले फिर्ता लिनुहुन्न उहाँहरूलाई कारबाहीको प्रक्रिया सुरु गरिन्छ ।’

कुनै सांसदले बैठक बहिस्कार गरेमा आवश्यक निर्णय लिइने उनले बताए । ‘जो बैठकमा आउनुहुन्न र हस्ताक्षर फिर्ता लिनुहुन्न त्यस्ता माननीयज्यूहरूलाई त्यही दिनको बैठकले के गर्ने भन्ने कुरा तय गर्छ,’ उनले भने ।

एमालेको विवादका कारण प्रदेश-१ मा पनि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल–नेपाल समूहका केही सांसदले बैठक बहिस्कार गर्ने सम्भावना छ ।

मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा ३७ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राजनीतिक रुपमा विभाजनको स्थितिमा पुगेपछि तत्कालीन प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याएर भीम आचार्यको नेतृत्वमा सरकार गठन गर्ने योजनामा थियो ।

दलभित्रको विवाद कानुनी रुपमा टुंगो नलागेसम्म राई पक्षले प्रदेशसभामा अविश्वास प्रस्ताव अघि बढ्न नसक्ने अडान राखिरह्यो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी र साविक नेकपाकै प्रचण्ड-नेपाल समूहको दबाबका कारण सभामुख प्रदीपकुमार भण्डारीले ९ फागुनमा अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबुल गराए ।

अविश्वास प्रस्ताव टेबुल गरिएलगत्तै २० फागुनसम्म प्रदेशसभा बैठक स्थगित भयो । २० फागुनअगावै २ चैतसम्म पुनः संसद बैठक स्थगित गरेको सूचना प्रकाशित भयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि २ चैतका लागि डाकिएको प्रदेशसभा बैठक एक दिनअगावै अनिश्चित कालका लागि स्थगित गरियो ।

एमालेमा झलनाथ खनाल र माधव नेपालले समानान्तर गतिविधि गरिरहेका छन् । त्यसको असर प्रदेशमा पनि देखिएको छ । जसका कारण मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रभावित हुने देखिन्छ ।

एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सांसदलाई फिर्ता गर्न निर्देशन दिएको छ । तर प्रदेश १ का एमाले सांसदले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएका छैनन् । एमाले विवादकै कारण राईविरुद्धको अविश्वासको प्रस्ताव अन्यौलमा परेको छ । एमाले ब्युँतिएपछि प्रदेश १ मा खनाल-नेपाल समूह थप कमजोर बनेको छ ।

राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ जना सांसदमध्ये एमालेका २१ जना थिए । त्यसमध्ये सांसदहरू श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, जसमाया गजमेर, बसस्तीदेवी यादव र कला घलेले हस्ताक्षर फिर्ता लिएका छन् । उषाकला राई ओली समूहमा खुलेकी छन् । हस्ताक्षर फिर्ता नलिँदासम्म खनाल-नेपाल समूहमा लागेका १५ जना सांसद अविश्वास प्रस्तावको पक्षमा रहेको देखिन्छ ।

त्यसमध्ये पनि केही सांसद संस्थापन पक्षमै फर्किइसकेको एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बताउँछन् । अहिले आफ्नो पक्षमा ४० भन्दा बढी सांसद रहेको र केही सांसद अझै फर्कने क्रममा रहेको उनको दाबी छ । माओवादी केन्द्रका टंक आङ्बुहाङ एमाले प्रवेश गरेका छन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेशसभामा एमालेको ५१ र माओवादी केन्द्रको १६ सिट छ । एमाले एक ठाउँ उभिए मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल हुनेछ । तर, केन्द्रमा जस्तै प्रदेशमा पनि सांसदहरू दुई समूहमा विभाजित भएकाले संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । शिलापत्रबाट