सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि भएपछि इलाम स्थित कोभिड–१९ संकट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह ‘इलाम सदरमुकाममा दोस्रो चरणको खोप वैशाख ७ देखि ११ गते सम्म लगाउने तयारी

इलाम _ सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि भएपछि इलाम स्थित कोभिड–१९ संकट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । उनको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । संक्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने आज स्वाब संकलन गरिने जनाइएको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठले इलाम र झापाको सीमाना जोर कलशमा हेल्थ डेक्स राख्ने र इलाम प्रवेश गर्नेहरुको स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको छ । बैठकले सरकारले दोस्रो चरणमा सुरु गर्न लागेको कोभिड भ्याक्सिन आगामी वैशाख ७ गते देखि ११ गते सम्म लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । ‘इलाम सदरमुकाममा दोस्रो चरणको खोप वैशाख ७ देखि ११ गते सम्म लगाउने तयारी गरिएको छ ।’ प्रजिअ खड्काले भन्नुभयो, ‘अन्य पालिकाहरुमा वैशाख ८ र ९ गते खोप लगाइने छ ।’ प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन् । गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गते सम्म खोप लगाउनेहरूलाई यो दोस्रो चरणको खोप लगाइने छ ।
इलाम नगरपालिका बाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मंगलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।
त्यसै गरि, नेपाल भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाई गरिएको छ । यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शंकास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाको लागि आरडिटी परिक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो ।
बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दुरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना सबैलाई आग्रह गरेको छ । यसैबीच इलामको रोङ र माइ नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन् । एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ । यसअघि कोभिड संक्रमणको शून्यमा भरेपछि बन्द भएका इलामस्थित आइसोलेसनलाई पनि पुनः तयारीमा राखिएको छ ।