नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा केही जिल्लाहरुमा नेताको कार्यविभाजन हेरफेर तथा जिम्मेवारी तोकिनेबारेमा पनि छलफल हुने सचेतक भट्टराईले बताउनुभयो । महाधिवेशन आयोजक कमिटी गठनमा असन्तुष्टि जनाउँदै आएको खनाल(नेपाल समूहले बैठकमा नजाने भएको छ। नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले हिजो एक अपिल जारी गरेर आज बोलाएको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ ।

नेपाल पक्षका नेता डाक्टर बेदुराम भुसाल र राजेन्द्र पाण्डेले हिजो निर्वाचन आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारबाही प्रकृया अघि बढाउन लिखित निवेदन दिनुभएको हो ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले ब्युँतिएपछि फागुन २८ र चैत ७ मा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको सबै निर्णय बदर गरी आफूहरूलाई आधिकारिकता दिन माग गर्दै आयोग गएको नेपाल पक्षले जनाएको छ ।