त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचकाे खेल बराबरीमा सकियो नेपाल पनि फाइनलमा प्रवेश

त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीच भएको आजको खेल बराबरीमा सकिएको छ ।

पटक–पटक पानी परेर बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकियो
यसअघि पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनाएको थियो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । आजको खेल बराबरी भएसँगै नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुगेका छन् । मलेसिया भने बाहिरिएको छ ।

नेदरल्याण्ड्सको पाँच अङ्क भएको छ भने नेपालको चार अङ्क रहेको छ । मलेसिया एक अङ्कसहित पुछारमा छ । भोलि नेपालले मलेसियासँग खेल्नेछ ।