भारतबाट घर फर्किएका मोरङका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर _भारतबाट घर फर्किएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दिल्लीबाट घर फर्किएका मोरङका ८ मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बुधबार सीमावर्ती क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा ६ जनामा एन्टिजेन पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उनीहरु जहदा गाउँपालिका–७ का हुन् ।

पोजेटिभ देखिएकालाई जहदा गाउँपालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्नेगरी पठाइएको कार्कीले बताउनुभयो । चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ८ जनालाई सशस्त्र प्रहरीले हेल्थ डेस्कमा पठाएको थियो । बुधबार नै विराटनगरमा ४१ जनाको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पोजेटिभ देखिएकाहरुलाई एम्बुलेन्समा ल्याएर होम आइसोलेसनमा राखिएको जहदा गाउँपालिका स्वास्थ्य संयोजक राजकुमार दासले जानकारी दिनुभयो ।