कोरोना सङ्क्रमणको दोस्रो चरण फैलिएसँगै भिडभाड हुने सबै कार्यक्रम रोक्ने कोबिड १९ संकट व्यवस्थापन केन्द्र इलामको निर्णय

इलाम _कोरोना सङ्क्रमणको दोस्रो चरण फैलिएसँगै इलाममा स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादूर खड्काको अध्यक्षतामा बसेको कोबिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लाबासीलाई स्वास्थ सतर्कता अपनाउन आग्रह गरेको हो ।
आज बसेको बैठकले बैशाख मसान्तसम्म हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशाला दर्शक सहित हुने खेलकुद र मानिसहरुको भिडभाड हुने काम नगर्ने निर्णय गरेको छ । बैठकले मठ, मन्दिर, मस्जित, गुम्बा र चर्च लगायतका धार्मिस्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पुजा अर्चना गर्नुपर्ने निर्णय गरेको हो ।
जिल्लामा सार्वजनिक यातायातका साधन संचालन गर्दा सिटको मात्रा अनुसार यात्रु चढाउने, माक्स अनिवार्य लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने, चालक र सह–चालकले माक्स तथा भाइजर प्रयोग गर्नुपर्ने, माक्स नल्याएमा १० रुपैयाँ लिएर माक्स प्रदान गर्ने, लामो दुरीको सवारीसाधनमा बिचबाटोमा यात्रु नचढाउने र अनिवार्य यात्रुको बिबरण जिल्ला कोबिड १९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनुपर्ने बैठकले निर्णय गरेको छ ।
सार्वजनीक निकायहरु र व्यवसाय संचालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालन गरि मात्रै संचालन गर्ने र सार्वजनिक निकाय तथा पसलमा आउने व्यक्तिले अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने बैठकले निर्णय गरेको हो । त्यस्तै होटल र रेष्टुरेन्टहरु बिहान ८ बजेबाट बेलुकी आठ बजेसम्म मात्रै संचालन गर्न दिने र कामदारले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने बैठकको निर्णय रहेको छ ।
कोबिड १९ मा आम समुदायले पालन गर्नुपर्ने नियमहरु पनि संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको छ ।
केन्द्रले जरुरी परेमात्रै सर्वसाधारणलाई घर बाहिर निस्कन आग्रह गरको छ । जिल्ला समन्वय प्रमुख गणेश प्रसाद बराल र इलाम नगरपालिका प्रमुख महेश बस्नेत सल्लाहाकार रहनुभएको संकट व्यवस्थापन केन्द्रमा साहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, जिल्ला समन्वय अधिकारी हरिप्रसाद दाहाल, प्रमुख सेनानी प्रभात थापा, नेपाल प्रहरीका एसपि नविनराई , शसस्त्र प्रहरीका एसपि सुधिरजंङ्ग थापा, प्रमुख अनुसन्धान अधिकृत पुष्पनारायण दाहाल र जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन प्रभु साह रहेका छन् ।(साभार :लोकल सन्देश)