कामदारले भुत्तानी नपाउदा इलामको माङ्सेबुङ्गको सव–स्टेशन अलपत्र

माङ्सेबुङ्ग _ निर्माण कम्पनीले काम नगर्दा इलामको माङ्सेबुङ्ग गाउँपालिमा –६ मा निर्माणाधिन सव–स्टेशन अलपत्र परेको छ । निर्माणको म्याद सकिएको वर्षदिन बितिसक्दा पनि सव–स्टेशनको काम अलपत्र परेको हो ।
इलामको चिसोपानि पञ्चमीसँगै पहाड र तराईका गरि १३ वटा सव–स्टेसन निर्माणको जिम्मा एक भारतीय कम्पनीले पाएको थियो । भारतीय कम्पनीबाट त्रिपुरेश्वर जयदुर्गा जेभिले निर्माणको काम गर्ने नेपालको आधिकारीक निर्माण कम्पनी प्रतिनिधि तोकेको थियो । सन् २०१७ मा साढे २ वर्षमा निर्माण सक्ने गरि संझौता भएपनि अहिले निर्माणको काम अलपत्र रहेको छ ।
सव–स्टेसन अलपत्र भएपछि इलाम र पाँचथरको सीमा क्षेत्रका बासिन्दा अध्याँरोमा बस्न बाध्य भएका छन् । सव–स्टेसन अलपत्र परेपछि पाँचथर र इलामको सीमा क्षेत्र राँके, रबी हुँदै इलामको माङ्सेबुङ्गको ३३ केभिको विद्युत प्रशारण लाइन चार्ज गर्ने काम नभएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो ।
प्रदेश २ का किसानलाई उखुको मूल्य नदिएको आरोप लागेका राकेश अग्रवालको निर्माण कम्पनीले इलामको देविडाँडा निर्माण सेवालाई सिभिल कष्ट्रक्सनको जिम्मा दिएको थियो । निर्माणको काम गरेपनि नियमित रुपमा भुक्तानीको काम त्रिपुरेश्वर जयदुर्गा जेभिले नदिएको देविडाँडा निमाण सेवाका डिबि तामाङले बताउनुभयो ।
देविडाँडा निर्माण सेवा सँग त्रिपुरेश्वर जयदुर्गा जेभिले निर्माणको काम गर्न लिखित संझौता गरेको थियो । अहिले सिभिल पट्टिको ९५ प्रतिशत काम सकिएपनि भुक्तानी नपाएको देविडाँडा निर्माण सेवाका नविन तामाङ बताउँनुुहुन्छ । ‘निर्माणको कामको संझौता गर्दा त्रिपुरेश्वर जयदुर्गा जेभिका प्रतिनिधिले २५ लाख माथिको मात्रै बिल पेश गर्नु भन्नुभएको थियो,–उहाले भन्नुभयो ‘त्यहि भएर हामीले धमाधम काम गरेर २५ लाख माथिको बिल पठाएपनि नियमित रुपमा कामको भुक्तानी पाएका छैनौँ ।’ त्रिपुरेश्वर जयदुर्गा जेभिले बिल पास भएको ७ दिन भित्र स्थानीय निर्माण कम्पनीलाई भुत्तानी दिने संझौता गरेको थियो ।
देविडाँडा निर्माण सेवाले २ करोड २० लाखको काम गरेपनि अहिलेसम्म डेढ करोड रुपैयाँ मात्रै पाएको छ । पटक–पटक ताकेता गरेपनि भुक्तानी नपाएपछि हामीले काम रोक्न बाध्य भयौँ– डिबि तामाङले भन्नुभयो–‘कामदारलाई पैशा दिन नसकिएपछि काम रोकेका हौँ, नियमित रुपमा भुक्तानी भए हामी काम गर्न तयारै छौँ । पहाड र तराईका गरि १३ वटा सव–स्टेसन निर्माणको जिम्मा पाएको भारतको ए टु जेट निर्माण कम्पनीको आधाकारिक नेपाल प्रतिनिधिको रुपमा रहेर त्रिपुरेश्वर जयदुर्गा जेभिले निर्माणको काम पाएको थियो ।
त्रिपुरेश्वर जयदुर्गा जेभिल एक अरब २५ करोडमा १३ वटा सव–स्टेशन निर्माणको जिम्मा पाएको नेपाल विद्युत प्राधिकरण योजना माहाशाखाका गोदराज ढकालले बताउनुभयो । निर्माण कम्पनीले निर्माणको जिम्मा पाएकामध्ये ८ वटा निर्माण सम्पन्न भएपनि तराईका २ वटा पहाडी जिल्लाका ३ वटा सव–स्टेसन अलपत्र छन्–ढकाल भन्नुभयो–‘ निर्माण कम्पनीको आर्थिक अवस्था संकटग्रस्त भएकाले त्यसलाई मध्यनजर गरि नियमित रुपमा काम अघि बढाउने योजनामा छौँ ।’
भुक्तानिको समस्या देखिएकाले स्थानीय ठेकदारलाई सिधैँ भुक्तानीको व्यवस्था गरि निर्माणको काम सक्ने योजना रहेको ढकालले बताउनुभयो । ढकालका अनुसार इलामको मात्रै सव–स्टेशन निर्माणका लागि आठ करोड बढी खर्च हुनेछ । सिभिलको काम सकिने बित्तिकै प्राविधिक सामग्री जडान हुनेछ– ढकालले भन्नुभयो–‘प्राविधिक उपकरणहरु विराटनगरसम्म आइसकेकाले जडान गर्न धेरै समय लाग्दैन, यो आर्थिक वर्षको अन्त्यसम्ममा काम सक्ने योजनामा छौँ । सव–स्टेसनसँगै निर्माण कम्पनीले चिसोपानी पञ्चमी क्षेत्रमा विद्युतिय प्रशारण लाइन निर्माणको काम गर्नुपर्ने हुन्छ ।
सव–स्टेसन नबन्दा इलामको क्षेत्र नम्बर २ का बासिन्दा नियमित रुपमा विद्युत उपभोग गर्न पाएका छैनन् । लामो विद्युत प्रशारण लाइनलाई व्यवस्थित गर्न सव–स्टेशन निर्माणको योजना भएपनि अलपत्र अवस्थामा पुग्न विद्युतको लोड व्यवस्थापनमा समस्या भएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो। (साभार :लोकल सन्देश)