मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ


मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका(७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक हप्तादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर(६ का १६ वर्षीय एक किशोर र भारत पानी ट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् । आइतवार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई अहिले इलाकम प्रहरी कार्यलय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।
तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरु व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको दाहालले बताउनुभयो । शनिवार राति काँकडभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काँकडभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताउनुभयो । गएको माघयता मेचीनगरमा ३०० मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि केबुल तार चोरीका घटना भइरहेका छन् ।
अहिले पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लगेर बिक्री गर्दै आएको पाइएको छ । त्यस्तो तार प्रतिकेजी एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
कुलतमा फसेका युवाहरु तार चोरीमा संलग्न हुने गरेको र त्यही धन्दाबाट आर्जित रकमले लागूऔषध खरिद गरेको पाइएको हुँदा अभिभावकसमेत छोराछोरीको आचरण निगरानीमा लाग्नु पर्ने देखिएको छ।