पूर्वी नाकाबाट भारतीय यात्रीको प्रवेशलाई पूर्ण रूपमा बन्देज

पूर्वी नाकाबाट भारतीय यात्रीको प्रवेशलाई पूर्ण रूपमा बन्देज गरिएको छ । कोरोना विपद् व्यवस्थापन केन्द्रको निर्णयअनुसार पीसीआर रिपोर्ट भएका भारतीयलाई समेत प्रवेश निषेध गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

भारतीयलाई मंगलबारबाट लागू हुने गरी प्रवेशमा रोक लगाइएको हो,’ प्रजिअ तिम्सिनाले भन्नुभयो, ‘नेपालीहरूलाई समेत पारि नजान अनुरोध गरिरहेका छौं ।’ नेपालले भारतीयलाई रोक लगाएपछि भारतीय अधिकारीले समेत नेपालीलाई रोक लगाउने तयारी गरिरहेको बुझिएको छ ।

‘हामीले भारतीयलाई रोकेपछि उताको सुरक्षाकर्मीले पनि नेपालीलाई रोक्ने पक्का छ,’ एक सुरक्षाकर्मीले भन्नुभयो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालका अनुसार केही दिनअघि भारतीयहरू नक्कली पीसीआर रिपोर्ट बोकेर नेपाल प्रवेश गरेको खुलासा भएको थियो ।

भारतीय बजारका क्लिनिकहरूले नक्कली पीसीआर रिपोर्ट महँगो शूल्य लिएर बिक्री गर्ने गरेको प्रहरीले जानकारी पाएको थियो । कतिपय निजी क्लिनिकले एउटा पीसीआर रिपोर्टको १० हजार भारुसम्म असुलेको थाहा भएको छ । भारतीय नागरिक पवन घोषले पीसीआर रिपोर्ट छिटो चाहिनेहरूलाई महँगो शुल्कसमेत लिने गरेको बताउनुभएको छ ।