झापा र मोरङका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर _ मोरङ र झापा घर भएका कोरोना भाइरस संक्रमित दुई पुरुषको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएका पुरुषमा निमोनियाको पुरानै समस्या रहेको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो ।

सङ्क्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजे मृत्यु भएको दाहालले बताउनुभयो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको उहाको भनाइ छ । मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको दाहालले जानकारी दिनुभयो ।