इलाम नगर क्षेत्रका विद्यालयहरुको पठनपाठन र परीक्षा स्थगन


इलाम_ विश्वभरि फैलिदै गइरहेको नयाँ भेरिएन्टसहितको कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धमा इलाम नगरपालिकाका प्रमुख श्री महेश बस्नेतको अध्यक्षतामा हालै बसेको बैठकले इलाम नगर क्षेत्रमा तत्कालै कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रचारात्मक सचेतनाको कार्य गर्ने गराउने, बार र तिथिको आधारमा लाग्ने हाटबजार, सभा सम्मेलन, प्रदर्शनात्मक वा प्रतियोगितात्मक खेलकुद लगायतका कार्यहरु नगर्ने नगराउने, निर्माण कार्य, कलकारखाना तथा बगानका मजदुरहरुलाई स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य गर्ने, नगर क्षेत्रका विद्यालयहरुको पठनपाठन र परीक्षा अर्को निर्णय नहुन्जेलसम्म स्थगन गर्ने, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक धार्मिक सांस्कृतिक क्रियाकलापहरुमा स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य गरी २५ जनासम्म मात्र सहभागी हुने लगायतको निर्णय गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनभएको छ ।
यसैगरी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८।१।६ को आदेश र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र इलामको मिति २०७८।१।९ को निर्णयानुसार आम नागरिकहरुले पालना गर्नु पर्ने नियम परिपालनामा सहयोगका लागि इलाम नगरपालिकाले नगरवासीहरुमा अनुरोध समेत गरेको छ । यस अनुसार आम नागरिकहरुले अत्यन्त जरुरी काम परेमा बाहेक घर बाहिर ननिस्कने, घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नु पर्ने मास्क बन्द डस्विन वा प्लास्टिकमा बन्द गरी सुरक्षितसाथ ५ दिनपछि मात्र विसर्जन गर्ने, घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरिएको मास्क नफाल्ने, विदेशबाट नेपालमा आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक टे«सिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएतापनि १० दिन होम क्वारेन्टिनमा अनिवार्य बस्ने, पिसिआर परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिडडुल, भेटघाट र बैठक नगर्ने, स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने, अन्य व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशीघ्र जानकारी गराउने, होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने । घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्ने कार्य गर्नु पर्ने भएको छ ।