माईनगर भित्रका साप्ताहिक हाटवजारहरु अर्को सुचना नहुञ्जेल बन्द गर्ने निर्णय


इलाम _माई नगरपालिका बिपत ब्यबस्थापन समितिको बैठकले नगर भित्रका साप्ताहिक हाटवजारहरु अर्को सुचना नहुञ्जेल बन्द गर्ने निर्णय गरेको छ । माईका मेयर दिपक कुमार थेबेको अध्यक्षतामा बिहिबार बसेको बैठकले नगर भित्रका शुक्रबारे, सोमबारे, बिहिबारे लगायतका हाट बजार बन्द गराउने निर्णय गरेको हो ।

बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणले स्थानीय स्तरमा थप जोखिम बनाउन सक्ने भन्दै जोखिम न्युनीकरणका लागि बिहिबारकै मितिबाट हाट बजार बन्द गराउने निर्णय भएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल जानकारी दिनुभयो । जोखिम न्युनीकरण गराउन बिहिबारकैै मितिबाट नगरपालिका भित्रहुने गोष्ठी, सभा, सम्मेलन, प्रतियोगितात्मक खेलकुद लगायत २५ जना भन्दा बढी भिडभाड जम्मा हुने कार्यक्रमहरु बन्द गरिएको छ । त्यस्तै यात्रु वहाक सवारी साधनमा यात्रु ओसार प्रसार गर्दा सवारी साधनहरुले स्वास्थ्यका आधारभुत मापदण्ड प्रयोग गराउनु पर्ने उल्लेख गरिएको छ । मापदण्ड प्रयोग संगै सिट क्षमता भन्दा बढी यात्रु ओसार प्रसार गराउन नदिने निर्णय भएको लोदिया प्रहरी चौकीका इन्चार्ज पदम सुन्दर लिम्बुले बताँउनु भयो ।

यता बुधबार बसेको माई नगरपालिका शिक्षा, युवा तथा खेलकुल शाखाले नगर भित्रका सबै सामुदायिक तथा संस्थागत बिद्यालयको पठनपाठन र परिक्षा समेत अर्को सुचना नभए सम्म स्थगित गरेको छ । कोभिड १९ संक्रमण दिनानुदिन बढ्दै गएकाले बिद्यालयमा भौतिक उपस्थितमा हुने पुर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को सुचना नभए सम्मको लागि स्थगित गरिएको शिक्षा शाखा प्रमुख राजकुमार ओडारीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।