मोरङको जहदास्थित एउटा घरमा आगलागी हुदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति


विराटनगर _ मोरङको जहदास्थित एउटा घरमा आज बिहान आगलागी भएको छ । घटनामा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जहदा गाउँपालिका–१ बुधनगरका लोकेश्वर सरवरियाको घरमा आगो लागेको जानकारी दिनुभयो । उहाका अनुसार टिनको छानो र टाटीको बेरा भएको चार कोठे घरमा बिहान ३ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीमा परेर घर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ । साथै गाई गोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुनचाँदी लगायत महत्वपूर्ण कागजपत्र जल्दा अन्दाजी १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको राईले बताउनुभयो ।

स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको भए पनि घर र घरमा रहेका केही पनि सामान जोगाउन नसकिएको जानकारी डीएसपी राईले दिनुभयो । घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।