मोरङका छुट्टाछुट्टै अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु


विराटनगर _ मोरङका छुट्टाछुट्टै अस्पतालमा उपचारका लागि भर्ना गरिएका तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक जना भारतीय नागरिक रहेका छन् ।

मृतकमध्ये भारती नागरिक पुरुष हुन् भने अरु दुई जना विराटनगर र सुनसरीका वृद्धा महिला हुन् । भारतीय नागरिकको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बिहान ७ः१० बजेतिर मृत्यु भएको हो ।

नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो । अस्पतालले प्राप्त गरेको जानकारी अनुसार व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएर उनी आफन्तको घरमा बस्दै आएका थिए ।

कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको देवले बताउनुभयो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आज बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उहाले बताउनुभयो । राजवंशीका अनुसार शनिबार नै उपचारका लागि भर्ना गरिएको थियो ।