रक्तश्राव नरोकिँदा विराटनगरकी सङ्क्रमित महिलाको ज्यान गयो


विराटनगर_ विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित १ महिलाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ । विराटनगर महानगरपालिका–५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिएकै अवस्थामा बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभएको छ उहाका अनुसार मृतकमा कोरोना सङ्क्रमणसँगै अत्याधिक रक्तश्राव भइरहने समस्या रहेको थियो।
महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उपचार सफल हुन नसक्दा पाँच घण्टाभित्रै उनको मृत्यु भएको दाहालले बताउनुभयो । पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको उहाको भनाइ छ ।
‘रक्तश्राव धेरै भएकी महिलाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको रहेछ,’ उहाले भन्नुभयो ‘अस्पताल ल्याइपु¥याउँदा अवस्था निक्कै गम्भीर बनिसकेको थियो ।’ तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि रक्तश्राव नरोकिँदा जीवितै राखेर सङ्क्रमणमुक्त गर्ने प्रयास असफल भएको दाहालले जानकारी दिनुभयो । उहाका अनुसार मृतकमा रक्तश्राव र कोरोना सङ्क्रमणबाहेक स्वास्थ्य सम्बन्धी अरु कुनै पुरानो समस्या थिएन । मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको दाहालले बताउनुभएको छ ।