गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन


गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको काठमाण्डौको सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

आज बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण इन्फेक्शन देखिएपछि उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो १ ४५ बजे प्रधानलाई हृदयाघात भएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले बताउनुभएको छ ।

सङ्गीतकार लक्ष्मण शेषले गायक प्रधानको अन्तिम श्रद्धाञ्जलीका लागि स्वास्थ्यका मापदण्ड अपनाएर अस्पतालमा उपस्थित भइदिन आग्रह गर्नुभएको छ ।

आफ्नो समयका निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । उहाँका घुम्तीमा नआऊ है,तिमीलाई अचेल कहाँ देखु, गोरेटो यो गाउँको, पर लैजाऊ फूलहरु लगायत गीत लोकप्रिय छन् ।

विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोकको चौतारामा प्रधानको जन्म भएको थियो ।