चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति


विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ ।

डब्ल्यूएचओले अनुमति दिएको पश्चिमी मुलुक बाहेकको देशमा सिनोफार्म पहिलो कोरोनाविरुद्धको खोप उत्पादक कम्पनी हो । यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपले अनुमति पाइ सकेका छन् ।

सिनोफार्मले उत्पादन गरेको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओले एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना रहेको र यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीले जनाएकोछ ।