सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट निषेधाज्ञालाई कडाइ गर्ने


सुनसरी प्रशासनले बैशाख ३१ गते रातीबाट जिल्ला ठप्प पार्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्शमा पुगेको प्रशासन जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णयमा पुगेको हो ।

संक्रमित र मृतकको संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको हेलचेक्राई नरोकिएको प्रशासनको ठहर छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बैशाख ३१ गतेबाट जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गरिन लागेको बताउनुभयो । उहाले फैलदो संक्रमणका बिच सर्वसाधारणको गतिविधि चिन्ताको विषय बन्दै गएको बताउनुभयो।

प्रशासनले जारी गरेको सूचना अनुसार बैशाख ३१ बाट १५ दिनको अवधि सम्म औषधि पसल बाहेकका कुनै पनि पसल खोल्न दिइने छैन् । जिल्ला प्रशासन कार्यालयले डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गरेको जनाएको छ । बैठकले अत्यावश्यक बाहेकका अन्य सवारीका साधन संचालनमा समेत पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

प्रशासनले दिएको जानकारी अनुसार अत्यावश्यक सेवाका कार्यालयका कर्मचारीको हकमा विहान र बेलुकी आउजाउ गर्ने समयमा मात्र छुट दिइने छ ।
बैशाख ३१ गतेबाट लागु हुनेगरी निषेधाज्ञामा पूर्ण कडाइ गर्ने प्रशासनले जनाएकाले त्यसयताको बाँकी रहेको समय भने सर्वसाधारणको लागि आवश्यक सरसामान जोहो गर्न भनिएको बुझिएको छ ।

प्रशासनले जारी गरेको सूचनामा अन्य विषय र निर्णय भने नेपाल सरकारले तोकेको र यसअघि लागु गरिएका निर्णय बमोजिम हुने भनिएको छ ।