भारतसंग सिमा जोडिएकाे सूर्योदय र माईजोगमाईमा अस्थायी कोभिड अस्पताल संचालनमा


फिक्कल _नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण फैलिएपछि भारतसंग सिमा जोडिएको इलामको २ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल संचालनमा आएका छन् । सूर्योदय नगरपालिका र माईजोगमाईले कोभिड संक्रमण बढ्दै जान थालेपछि अस्थायी अस्पताल संचालनमा ल्याएका हुन् । नेपाल–भारत नाका रहेको पशुपतिनगरमा मंगलबारबाट सूर्योदय नगरपालिकाले १० बेडको कोभिड–१९ अस्थायी अस्पताल नाम दिएर सञ्चालनमा ल्याएको हो ।

माईजोगमाईले आजबाट नयाँबजारमा ५ बेडको अस्पताल संचालनमा ल्याएको छ । कोभिड अस्पतालमा बेड र अक्सिजन सिलिन्डर राखेर सुविधा दिइएको छ । अस्पतालमा हाईफ्लो अक्सिजन उपलव्ध गराउदा पनि अक्सिजन स्याचुरेशन सामान्य नआए अन्यत्र रिफर गरिने सूर्योदय नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।

पशुपतिनगर स्वास्थ्य केन्द्रमा स्थापना गरिएको अस्थायी अस्पतालमा भेन्टीलेटर, आईसीयु , एचडीयू जस्ता सुविधा भने उपलव्ध छैन् । हाल पशुपतिनगरमा रहेको अस्थायी अस्पतालमा ४ थान ठुलो र ४ थान सानो अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ । त्यसैगरी माईजोगमाई गाउँपालिकामा १८ वटा अक्सिजन सिलिन्डर रहेका छन् । आज ३ थान जोगमाई हाइड्रोले ठुलो सिलिन्डर गाउँपालिका अध्यक्ष जीतबहादुर राईलाई हस्तान्तरण गरेको छ ।

गाउँपालिका मार्फत १५ वटा सानो सिलिन्डर खरिद गरेर तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिनुभयो । ५ जना सक्रिय संक्रमित रहेको माईजोगमाईमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ । झापासंग सिमाना जोडिएको माई नगरपालिकामा गत बर्ष स्थापना गरिएको ५ बेडको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण देखिने वितिकै अस्थायी अस्पताललाई पुनः संचालनमा ल्याइएको माई अस्पतालका डा रामकृष्ण आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले खाली रहेको कन्काई माविको भवनलाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याएको हो । नगरमा स्थापना गरिएको ६५ बेडको क्वारेन्टाइन मध्ये ५ बेडलाई अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याइएको आचार्यले जानकारी दिनुभयो ।

उहाका अनुसार हाल नगरमा २० जना कोभिड संक्रमित रहेका छन् । जसमध्ये २ जनालाई आइसोलेसनमा राखिएको छ । बाँकी रहेकाहरु होम क्वारेन्टाइनमा छन् । सरकारले गत बर्ष अस्पताल नरहेको नेपालमा ६४९ स्थानीय तहमा कम्तीमा ५ बेडको अस्थायी कोभिड अस्पताल बनाउन निर्देशन दिएको थियो । कम्तीमा ३ महिनाका लागि अस्थायी अस्पताल निर्माणको लागि सरकारले प्रत्येक स्थानीय तहलाई १० लाख रुपैया बजेट बिनियोजन गरेको थियो ।

सरकारको निर्देशनपछि स्थानीय तहले गत बर्ष बेड र आवश्यक सामाग्री खरिद गरेर कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि काम गरेका थिए । केहि दिन अघि मात्र प्रदेश एक सरकारले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि इलाम अस्पताललाई १० लाख रुपैया बजेट पठाएको छ ।{साभार:लोकल सन्देश}