विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण


विराटनगर_होहल्ला गर्दै मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा छिरेको एउटा समूहले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको छ । आकस्मिक कक्षका चिकित्सक डा सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि ज्यानै लिने हिसाबले सोमबार राति आक्रमण गरिएको अस्पतालका कर्मचारी सुनील देवले बताउनुभयो । कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भई ल्याइएका दुई जनाको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि निरन्तर कुटपिट र आक्रमण भएको जानकारी देवले दिनुभयो ।

आक्रमणबाट डा रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको जानकारी देवले दिनुभएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको सङ्ख्यामा रहेको समूहले घटना गराएको हो । अरु नै बिरामीको उपचारमा व्यस्त रहेका बेला आकस्मिक कक्षमा छिरेर आक्रमण गरिएको उहाको भनाइ छ । दुवै जनामाथि लगातार लात्ता र मुक्का प्रहार गरिएको राईले बताउनुभयो ।
सामान्य अवस्थाकी वृद्धाको उपचारमा पाँच मिनेटजति ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिनेहरुमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ । डीएसपी राईका अनुसार घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।