मोरङको रङ्गेलीमा एक महिलाको हत्या


मोरङको रङ्गेलीमा हत्या गरेर फ्यालेको अवस्थामा आज बिहान एक महिलाको शव भेटिएको छ । धारिलो हतियाले घाँटी रेटेर हत्या गरि नहरमा फ्यालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो । उहाका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो ।

‘प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उहाले भन्नुभयो, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ ।’ प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन । हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ ।