आज र भोलि सचेत रहन जल तथा मौसम विज्ञान विभागको अनुरोध


आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले विशेष मौसमी बुलेटिन निकालेर भारतमा आएको ताउ–ते चक्रवातका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भोलि कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

प्रदेश १, प्रदेश २ र वागमती प्रदेशका केही ठाउँमा पनि मध्यम तथा ठूलो पानी पर्न सक्ने विभागको अनुमान छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानी तथा नदीहरूमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पूर्वी–मध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी ताउ–ते सोमवार भारतको गुजरातमा बज्रिएपछि कमजोर भए पनि नेपालमा पर्सी शुक्रवारसम्म प्रभाव देखिने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।