मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते


विराटनगर_नम्बर नखुलेको सवारी साधनले स्कोरपिओलाई ठक्कर दिँदा मोरङको पथरीशनिश्चरेमा भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी आफन्तलाई हेर्नका लागि मोरङको कानेपोखरी आउने क्रममा बुधबार राति १२ बजेतिर भएको दुर्घटनामा स्कोरपिओमा सवार अरु तीन जना घाइते भएका छन् । दुई जनाको अवस्था चिन्ताजनक छ ।

बिरामी आफन्तलाई हेर्न आएका पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको स्कोरपिओ गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा दुर्घटनामा परेको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमध्ये विष्णुमाया लक्ष्मीप्रसादकी सासूआमा हुन् ।

दुवै जनाको शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । दुर्घटनामा परेर स्कोरपिओ चालक झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकाश उप्रेती, झापा गाउँपालिका–२ की ४५ वर्षीया विनिता पौडेल र झापा हल्दिबारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएका छन् । घाइतेहरुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये विनिता र रोशनको अवस्था गम्भीर छ । चालकको अवस्था सामान्य रहेको एसपी शर्माले बताउनुभएको छ ।
प्रहरीले घटनास्थलबाट शंकास्पद रुपमा एउटा नम्बर प्लेट फेला पारेको छ । दुर्घटनास्थलमा ना २ ख ९४७३ नम्बरको प्लेट फेला परे पनि घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको एसपी शर्माले बताउनुभयो । दुर्घटना बस या ट्रकमध्ये एउटा सवारी साधनले गराएको हुनसक्ने उहाको अनुमान छ ।

दुर्घटना गराउने सवारी साधनले कुनै नक्कली नम्बर प्लेट फ्यालेर फरार भएको पनि हुनसक्ने प्रहरीको आशङ्का छ । दुर्घटना गराएर फरार रहेको सवारी साधनको तीव्र रुपमा खोजी थाल्दै पहिचानको प्रयास भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो । उहाले दुर्घटनामा परेर स्कोरपिओ गाडीमा पूरै क्षति पुगेको जानकारी दिनुभएको छ ।