एक्लै बस्दै आएका पुरुषको सुतेकै ओछ्यानमा बीभत्स हत्या


विराटनगर _घरमा एक्लै बस्दै आएका पुरुषको मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लोचनीमा सुतेकै ओछ्यानमा बीभत्स तरिकाले हत्या गरिएको छ ।
धारिलो हतियारले काट्दै घाँटीको अगाडिको भाग क्षतविक्षत बनाएर हत्या गरिएको अवस्थामा सुन्दरहरैँचा –३ का ४० वर्षीय विष्णु ऋषिदेवको शव आज बिहान भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको बीभत्स शव फेला परेको हो ।

गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको र टाटीको बेरा लगाएर बनाइएको झुप्रो घरमा विष्णु एक्लै बस्थे । उनकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।विष्णु भाइको घरमा खाना खाएर राति सुत्न आफ्नै घर आएको खुलेको छ । हत्याको जानकारी पाएर प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लगाइएको ओछ्यानमा लडिरहेको अवस्थामा शव भेटिएको डीएसपी राईले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा निदाएका बेला धारिलो हतियारले घाँटीको अगाडिको भागका काटेर हत्या गरिएजस्तो देखिने राईको भनाइ छ । घटनाको सबै कुरा अनुसन्धानका क्रममा खुल्दै जाने उहाले बताउनुभयो । ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका विष्णु दैनिक बिहानै उठेर काममा जाने गरेका थिए । ढिलोसम्म पनि उनी काममा ननिस्किएपछि बोलाउन गएका साथीहरुले घरभित्रै खाटमा हत्या गरिएको अवस्थामा शव देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिनुभएको छ ।

हत्यामा संलग्नको पहिचान भने खुल्न सकेको छैन । राईले घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको र गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । उहाका अनुसार घटनास्थलमा हत्यामा प्रयोग गरिएको कुनै हतियार फेला परेको छैन ।

घटनाको अनुसन्धानका लागि मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा विशेष टोली परिचालित गरिएको छ ।