इलाममा कम्तीमा १० दिन निषेधाज्ञा थप्न सिफारिस गर्ने निर्णय


इलाम_जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि कम्तीमा १० दिन निषेधाज्ञा थप गर्न कोडिभ–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र डिसीएमसी ले सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको डिसिएमसीको बैठकले संक्रमितको संख्या २ सय भन्दा कम भई नियन्त्रणमा आउने अवस्था नआउन्जेलसम्म कोरोनाको विस्तार रोक्न जिल्लाभर नै निषेधाज्ञा राख्नुपर्ने देखिएकाले आगामी १२ गतेबाट कम्तीमा १० दिन थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

इलाममा गत बैशाख २९ गतेबाट जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । गृह मन्त्रालयबाट कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणको नाममा आफुखुशी रकम जम्मा गर्ने कार्यलाई निरुत्साहन गर्ने निर्णय अनुसार स्वेच्छिक सहयोग गर्न चाहनेहरुको लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखामा रहको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा जम्मा गर्न अनुरोध गरेको छ ।

डिसिएमसीले कोभिड संक्रमणबाट निधन भएको व्यक्तिको शव व्यवस्थापन खर्च नेपाल सरकारले व्यर्होने नीति अनुसार सम्बन्धित व्यक्तिबाट नलिई नेपाल सरकारबाट निकासा नहुन्जेल प्रदेश सरकार, स्थानीय तह, गैर सरकारी संस्थासंग समन्वय गरि शव व्यवस्थापन कार्य गर्ने र खर्च विवरण सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गरेर राख्ने निर्णय गरेको छ ।

बैठकमा जिल्लाको हालको कोरोनाको अवस्थाको बारेमा समेत प्रस्तुत गरिएको थियो । बैठकमा प्रदेश एकका भुमि व्यवस्था कृषि सहकारी मन्त्री रामबहादुर मगरको विशेष आतिथ्यता रहेको थियो ।साभार लोकल सन्देश