प्रेस चौतारी इटहरीद्वारा संक्रमित पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान


इटहरी_प्रेस चौतारी नेपाल इटहरी नगर कमिटिले इटहरीमा कोरोना संक्रमित पत्रकारहरुलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएको छ । केन्द्रिय उपाध्यक्ष लीलाराज भट्टराई, प्रदेश सदस्य हिमाल दाहाल र नगर संयोजक त्रिलोचन पौडेलको प्रतिनिधिमुलक समुहले संक्रमित पत्रकारहरुलाई भेटेको हो । सो क्रममा अक्सिमिटर र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनुका साथै अक्सिजन लेभलको जाँचसमेत गरेको छ ।

इटहरीका कोरोना संक्रमित ७ जना पत्रकारहरुको अक्सिजन लेभल सामान्य पाएको चौतारीका केन्द्रिय उपाध्यक्ष लीलाराज भट्टराईले जानकारी दिनुभयो । ‘केही साथीहरुलाई सामान्य कमजोरी तथा खोकी र सामान्य ज्वरोको समस्या रहेछ,’ उहाले भन्नुभयो, ‘हामीले जानेको सुझाव दिएका छौं, आवश्यकता पर्दा अन्य सहयोगसमेत उपलब्ध गराउँछौं ।’

टोलीले घरघरै पुगेर भेटेपछि हौसला बढेको संक्रमित पत्रकारहरुले प्रतिक्रिया दिएका छन् । साथै अक्सिमिटर यन्त्र आवश्यकता महसुस गरिरहेकै समयमा प्रेस चौतारीले उपलब्ध गराएकोमा पत्रकार प्रकाश तिम्सिनाले खुसी व्यक्त गर्नुभएको छ ।

नगर संयोजक पौडेलले नगरभरीका पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । ‘पत्रकारहरुलाई आवश्यक मास्क, सेनिटाइजर, सामान्य औषधीहरु र स्वास्थ्य परामर्श जे आवश्यक पर्छ, उपलब्ध गराउने गरी तयारी गरेका छौं,’ उहाले भन्नुभयो, ‘आवश्यकता पर्नेबित्तिकै प्रेस चौतारीलाई सम्पर्क गर्न अनुरोध गर्छु ।’
उनले जिल्लाभरकै सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री तथा उपचारको आवश्यकता परेमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।