प्रदेश १ मा एक सय ६६ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण


विराटनगर_प्रदेश १ मा कोरोनाको दोस्रो लहर सुरु भएयता हालससम्म एक सय ६६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ । अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको नियमित काम कारबाहीसँगै सीमा क्षेत्रमा अवैध आवतजावत रोक्न र कोरोना नियन्त्रणमा सक्रियताका साथ लागेका सुरक्षाकर्मी संक्रमित बनेका हुन् । संक्रमित हुनेमा एक सय ३४ जना नेपाल र ३२ जना सशस्त्र प्रहरी छन् ।

नेपाल प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक डीएसपी एक, प्रहरी निरीक्षक इन्सपेक्टर चार, नायव निरीक्षक सइ ११, सहायक निरीक्षक असइ १७, प्रहरी हवल्दार ३२ जना तथा छ जना कार्यालय सहयोगीसहित अन्य प्रहरी जवानमा संक्रमण यकिन भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । उहाका अनुसार संक्रमितमध्ये ११ जना शनिबार दिउँसोसम्ममा निको भएर कोरोनामुक्त बनिसकेका छन् । सशस्त्र प्रहरी तर्फ सइ र असइ एक÷एक, वरिष्ठ हवल्दार दुई, हवल्दार एक, सहायक हवल्दार छ र जवान १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । चार जना सशस्त्र प्रहरी संक्रमणमुक्त भएका छन् ।
सबैसँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीमा कोरोनाको संक्रमण धेरै रहेको एसपी श्रेष्ठले बताउनुभयो । सशस्त्रमा पनि सीमा क्षेत्रमा खटिएका र भिडभाड नियन्त्रणमा परिचालन गरिएकाहरु संक्रमित बन्न थालेका छन् । प्रदेशमा ३५ जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । मोरङमा ट्राफिक इन्चार्जसहित १० जनामा संक्रमण देखिएको छ । अहिले ट्राफिक प्रहरी कोरोना नियन्त्रणमा केन्द्रित रहेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताउनुभयो । उहाका अनुसार मास्क र सेनिटाइजर बाँड्ने, स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रमहरु गर्ने, निषेधाज्ञा उल्लंघन गर्ने सवारी नियन्त्रणमा लिने काम ट्राफिकले गरिरहेको छ ।