ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीलाई सास्ती


ताप्लेजुङ – ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती पाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पछि बिरामीले उपचार पाउन मुस्किल छ ।

जिल्लामा न भेन्टिलेटर छ, न आईयीसू छ । जिल्ला अस्पतालमा अहिलेसम्म पनि १५ शय्या मात्र छ । ५० शय्या बनाउने भनेर सरकारले भने पनि अहिलेसम्म बन्न सकेको छैन । अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै छ ।

बिरामीलाई झापा तथा विराटनगर रेफर गर्नुको विकल्प छैन । एम्बुलेन्समा आठ घण्टाको यात्रामा पुगिने यी क्षेत्रमा लाँदा लाँदै बाटैमा धेरै जनाको ज्यान जाने अवस्था छ । रोगबारे जनस्तरमा सचेतना कम हुनुले झन् क्षति बेहोर्नु परिरहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको पनि छ ।

सदरमुकाममा सातसहित ताप्लेजुङमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण नौ जनाको ज्यान गइसकेको छ । पछिल्लो लहरमा मात्र चार सय ६५ जना सक्रिय सङ्क्रमित भएका छन् । तर परीक्षणको दायरा फराकिलो बनाउने हो भने यो सङ्ख्या अझ धेरै हुने अनुमान गरिएको छ ।

जिल्ला अस्पतालमा जम्मा दुई जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अहिले एक जना डाक्टरसहित ६ जना मात्र स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले बताउनुभयो ।