जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीको ज्यान गयो


बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ सरखुल खपतपुरकी ३७ वर्षकी चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा बिहान उपचारका क्रममै ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताउनुभयो । घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी तीन वर्षकी छोरी दीपिकालाई गएराति हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।