मेचीनगरलाई सबैभन्दा बढी बजेट

मेचीनगर । सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि झापाका १५ स्थानीय तहमध्ये मेचीनगरलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा केन्द्र सरकारबाट मेचीनगर नगरपालिकालाई ७६ करोड ५२ लाख रुपैयाँ बजेट छुट्याइएको छ । मेचीनगर देशभरकै सबैभन्दा ठूलो नगर पनि हो ।

मेचीनगरसहित झापाका पालिकाहरुलाई जम्मा ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन भएको छ । आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ ।

यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।